logo
२०८१ बैशाख ८ शनिवार



कोहलपुरबाट गोरखापत्रको प्रकाशन छिटो शुरु गर्न महाप्रबन्धक भट्टराईको निर्देशन

राष्ट्रिय |


कोहलपुरबाट गोरखापत्रको प्रकाशन छिटो शुरु गर्न महाप्रबन्धक भट्टराईको निर्देशन



सिराज खान । गोविन्द शर्मा
नेपालगञ्ज, भदौ २१ गते । गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक तथा निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईसहितको संस्थानको एक उच्चस्तरीय टोलीले बाँकेको कोहलपुरमा निर्माण भैरहेको गोरखापत्रको प्रकाशन गृहको निर्माण कार्यको स्थलगत निरीक्षण गरेको छ ।
कोहलपुर ३ मैटहवामा तयार भैरहेको प्रकाशन गृहको निर्माण कार्यको सोमबार निरीक्षण गर्दै संस्थानका निमित्त महाप्रबन्धक तथा प्रधानसम्पादक भट्टराईले बाँकी रहेको निर्माण कार्यलाई छिटो भन्दा छिटो पूरा गरेर पत्रिका प्रकाशन प्रारम्भ गर्न निर्देशन दिनुभयो ।
उहाँले कोभिड १९ का कारण प्रकाशन गृहको निर्माण कार्यमा ढिलाई भएको जनाउँदै अब बाँकी रहेको कामलाई तीव्र गतिमा सम्पन्न गरेर पत्रिकाको प्रकाशन शुरु गर्नुपर्ने बताउनुभयो ।
प्रेस भवन र सीटीपी कक्षको काम बाँकी रहेकाले सो कार्य तत्काल पूरा गर्न निर्माण कम्पनी उमा एण्ड कम्पनी जेभीका प्रतिनिधि कृष्ण पोखरेललाई निर्देशन दिँदै उहाँले अब कुनै पनि बहानामा ढिलाई सह्य नहुने बताउनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधी पोखरेलले छिटो भन्दा छिटो काम पूरा गर्ने आफूहरुको पनि चाहना रहेको बताउनुभयो । उहाँले कोभिड १९ र जमिनबाट पानी निस्कने समस्याका कारण निर्माणमा ढिलाई भएको सो अवसरमा प्रष्ट पार्नुभयो ।
गोरखापत्र संस्थानका प्रशासन प्रमुख ओमप्रकाश भुषाल, वरिष्ठ भण्डार अधिकृत विक्रमबाबु राई र उत्पादन विभाग प्रमुख अर्जुन बस्नेतले पनि निर्माण कार्यको अनुगमन गर्नुभयो ।
सो अवसरमा गोरखापत्र संस्थानको कोहलपुर कार्यालयका प्रमुख तारा बस्यालले हालसम्मको निर्माण र देखिएका समस्याहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
महाप्रबन्धकसहितको टोलीले कोहलपुरस्थित कार्यालयमा सम्बद्ध सबैलाई राखेर यथाशिघ्र प्रकाशन शुरु गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?