गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अब अर्को बैठक २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी गराउनुभयो ।
आज बुधबार बसेको पहिलो र दोस्रो बैठकमा नेकपा (एमाले) का सांसदहरुले नाराबाजीसहित अवरोध गर्नुभएपछि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको हो । निर्धारित ४ बजेका लागि बोलाइएको बैठक ४ः३३ बजे शुरुभएको थियो । नाराबाजीका बीच १० मिनेट बसेको बैठक पन्ध्र मिनेटका लागि स्थगित भयो । पुनः ५ बजे शुरुभएको दोस्रो बैठक पनि १५ मिनेट चलेर पन्ध्र मिनेटका लागि स्थगितभयो ।
पार्टी विभाजनमा सभामुख सापकोटाले सहायक भूमिका निर्वाह गर्नुभएको आरोप लगाउँदै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गर्नुभयो । नाराबाजीकाबीच बैठक सञ्चालन गर्न सहज नभएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गर्नुभयो ।
विरोधकैबीच दोस्रो बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुभयो । मनोनयन भएका सांसदहरुमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, लालबाबु पण्डित, सत्या पहाडी, सरलाकुमारी यादव रेणुकुमारी यादव रहनुभएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुको माग सुनुवाई नभएसम्म संसद बैठक अवरुद्ध गर्ने काम जारी राख्ने बताउनुभयो । आजको बैठकको शुरुमै विशेष समय लिएर प्रमुख सचेतक भट्टराईले सत्ता गठबन्धन दल र सभामुखले नियतबस एमाले फुटाउने काम गर्नुभएको टिप्पणी गर्नुभएको थियो ।