logo
२०८१ बैशाख १३ बिहीवार



गौतमबुद्ध विमानस्थलका लागि थप लगानी गर्न एडीबी तयारः नेता पौडेल

राष्ट्रिय |
प्रदेश |


गौतमबुद्ध विमानस्थलका लागि थप लगानी गर्न एडीबी तयारः नेता पौडेल


लक्ष्मण पौडेल
भैरहवा, असोज ९ गते । पूर्वअर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेलले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माण कार्य नरोक्न आग्रह गर्नुभएको छ । विमानस्थल आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि लगानी गर्न एसियाली विकास बैंक (एडीबी) तयार रहेको भन्दै उहाँले निर्माण कार्य नरोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उद्योग व्यापार संगठन रुपन्देहीको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको शनिबार भैरहवामा उदघाटन गर्नुहुँदै नेता पौडेलले दोस्रो चरणको निर्माणका लागि थप ७ अर्ब रुपियाँ लाग्ने र यसका लागि एडीबीसँग कुराकानी भैसकेको बताउनुभयो ।  थप लगानी गर्न एडीबी तयार रहेकाले सम्झौता प्रक्रिया अघि बढाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । “विमानस्थल निर्माणमा कुनैखालको र कुनै ढङ्गबाट बिलम्ब गरिनु हँुदैन” पौडेलले भन्नुभयो– “दोस्रो चरणको काम सुरु गर्न हामीले पहलकदमी जारी राख्नेछौं ।”

“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै सुविधासम्पन्न र अत्याधुनिक विमानस्थलमध्येमा समावेस हुन सक्नेगरी निर्माण गर्न चाहन्छौं”– पौडेलले भन्नुभयो– “विश्वको जस्तोसुकै विमान पनि यस विमानस्थलमा उडान र अवतरण गर्नसक्ने खालको निर्माण गर्नेछौं ।” कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले राज्यले औद्योगिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई भ्रममा राखेर सफल हुन नसकिने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले अप्ठ्यारो परिस्थितिका बाबजुद अगाडि बढेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले कोभिड र राजनीतिक अस्थिरताले निजीक्षेत्र प्रभावित बनेको बताउनुभयो । उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले उद्योग व्यवसाय लगानीमैत्री वातावरणमा उद्योगी व्यवसायीहरुलाई दर्ता प्रक्रिया झण्झटिलो भइकाले दर्ता प्रक्रियामा एकद्वार प्रणाली लागू गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?