logo
२०८१ जेष्ठ २ बुधवार



सकियो ३२ लाख घरको गणना

राष्ट्रिय |


सकियो ३२ लाख घरको गणना


नगेन्द्र सापकोटा

काठमाडौँ, असोज ११ गते । घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ । गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो ।
कतिपय घरपरिवारको प्रतिवेदन आउन बाँकी छ । सबै आउँदा यो सङ्ख्या अझै बढ्छ । सुपरिवेक्षकले दैनिक करिब तीन लाखको हाराहारीमा घर तथा घरपरिवारको गणना गरिरहेका छन् । घर तथा घरपरिवार गणना कार्यका लागि आठ हजार पाँच सय जना सुपरिवेक्षक देशभर खटिएका छन् ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार, घर तथा घरपरिवार गणना कार्य असोज १८ गतेसम्म सम्पन्न गरिने विभागको योजना छ । उक्त अवधिमा करिब ७० हजार घर तथा घरपरिवारको गणना हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।
अहिले भइरहेको घर तथा घरपरिवार गणना कार्यक्रममा सुपरिवेक्षकको कामको सहजीकरणका लागि सबै वडामा सहजीकरण समिति बनाइएको छ । उक्त समितिले सुपरिवेक्षकलाई आवश्यक समन्वय गरिरहेको निर्देशक लामिछानेले बताउनुभयो ।
विदेशी दूतावासमा कार्यरत सबै नेपाली कर्मचारीको पहिलो पटक गणना हुने भएको छ । राष्ट्रिय जनगणना २०७८ को क्रममा दूतावासका कर्मचारीको गणना हुन लागेको हो । यसअघिका जनगणनामा विदेशमा रहेका कर्मचारी छु्ट्ने गरेका थिए ।
कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मूल गणनामा अनलाइनको माध्यमबाट विदेशस्थित दूतावास र महावाणिज्य दूतावासमा कार्यरत नेपाली कर्मचारीको विवरण पनि समावेश गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले दूतावासमा कार्यरत कुनै व्यक्तिलाई फोकल पर्सन तोकी तथ्याङ्क अनलाइनको माध्यमबाट पठाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अगाडि विदेशका दूतावासमा कार्यरत नेपाली कर्मचारीको गणना हुँदैन थियो, यो पटक भने उक्त गणनालाई थप गरिएको हो । ”
उहाँका अनुसार विदेशमा गएका नेपालीको भने उहाँहरूकै नेपालमा भएका परिवारससँग सबै विवरण लिएर गणना गरिन्छ । कुनै व्यक्तिको पूरै घरपरिवार विदेश गएका छन् भने त्यस्ता परिवारको गणना गरिँदैन । जनगणनाका क्रममा विदेशमा गएका नागरिकको सङ्ख्या गणना गरिए पनि कुल जनसङ्ख्यामा जोडिँदैन । ती व्यक्तिलाई अनुपस्थित विदेश भनेर राखिने लामिछानेले बताउनुभयो ।
यस पटकको जनगणनामा एक जना व्यक्तिले कतिवटा बैङ्कमा खाता खोलेका छन् ? खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् भन्ने नयाँ प्रश्नावली पनि थप गरिएको छ ।
अहिले भइरहेको घर तथा घरपरिवार सूचीकरण गणना कार्यमा आवासीय घर, खाली घर, कार्यालय प्रयोजनका लागि निर्माण गरिएको घर र कच्ची वा पक्की, घरको तला, घर निर्माण गर्दा सरकारी अनुदान लिएर बनाएको वा आफैँले बनाएको लगायतका विषय पनि प्रश्नावलीमा समावेश गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन् । यस पटकको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?