logo
२०८१ जेष्ठ २ बुधवार



विकासका लागि अन्तरपालिका सहकार्य

राष्ट्रिय |


विकासका लागि अन्तरपालिका सहकार्य


नगेन्द्र सापकोटा

काठमाडौँ, कात्तिक २ गते । भूगोल जोडिएका स्थानीय तहबीच अन्तरपालिका सहकार्य गरी विकासका एकीकृत पूर्वाधार निर्माण गर्न थालिएको छ । पालिकाभित्र एकीकृत र ठूला पूर्वाधार निर्माण गरी सामूहिक योजना सञ्चालन गर्न उनीहरूले अन्तरपालिका सहकार्य सुरु गरेका हुन् ।
नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सीमा जोडिएका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न अन्तरपालिका सहकार्य सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा जोडिएका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अन्तरपालिका सहकार्य प्रभावकारी हुने देखिएर शिवपुरी गाउँपालिकाले काठमाडौँको टोखा, गोकर्णेश्वर, तारकेश्वर, कागेश्वरी मनोहरा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँग सहकार्य गरी शिवपुरीसम्म पदमार्ग निर्माणका लागि प्रारम्भिक कार्य अगाडि बढाएको छ ।”
पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमानामा रहेको त्रिवेणी धामको विकासका लागि यी दुई पालिकाबीच सहकार्य भएको छ । त्यस्तै सिद्धार्थ राजमार्गमा अवस्थित पालिकाहरूबीच ‘सिद्धार्थ आर्थिक करिडोर निर्माण’मा सहकार्य भइरहेको छ । धुलिखेल,

बनेपा र पनौती नगरपालिकाले आपसी सहकार्यमा ‘काभ्रे खानेपानी आयोजना’ सञ्चालन गरिरहेका छन् । काठमाडौँ उपत्यकाका नगरपालिकाबीच उपत्यका नगरपालिका फोरम निर्माण भएको छ । ललितपुरका दक्षिण क्षेत्रमा रहेका तीनवटा गाउँपालिकाले अध्यक्ष फोरम निर्माण गरी एकीकृत रूपमा अन्तरपालिका विकास निर्माण गर्ने कार्य सुरु गरेका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँं महानगरपालिकाद्वारा प्रवद्र्धन गरिएको नगर–नगर साझेदारी कार्यक्रमले काठमाडौँ जिल्लाका १० वटै नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले एकभन्दा बढी गाउँपालिका र नगरपालिकाको साझेदारीमा संयुक्त लागानी गरी पूर्वाधार निर्माण गर्न सक्ने व्यवस्था गरेको छ । ऐनमा अन्तरपालिका सहकार्य गर्नका लागि बृहत् पूर्वाधार निर्माण, ठूला मेसिन तथा औजार खरिद र व्यवस्थापन, यातायात सञ्चालन तथा व्यवस्थापन, बस्ती विकास तथा भूउपयोग योजना सञ्चालन गर्न सक्ने व्यवस्था छ । त्यस्तै पर्यटन प्रविधि तथा संस्कृतिको प्रवद्र्धन र विकास, स्थानीय बजार व्यवस्थापन र वातावरण संरक्षण, भौतिक र आर्थिक सहयोग गर्न सक्ने व्यवस्था ऐनमा छ ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले अन्तरपालिका सहकार्यले दुई वा तीन पालिका जोड्ने योजना प्रभावकारी रूपमा सञ्चालन हुन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अन्तरपालिका सहकार्यले सामूहिक लगानीलाई प्रोत्साहन पुगिरहेको छ । यसबाट एकीकृत पुँजी निर्माण हुनुका साथै साधन, स्रोत र पूर्वाधारमा दोहोरो लागत तथा व्ययभार घट्दै गएको छ । यसरी समन्वय गरी सञ्चालन गरिएका पालिकामा आन्तरिक आयसमेत वृद्धि भएको देवकोटाले बताउनुभयो ।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले अन्तरपालिका सहकार्य र समन्वयले पालिकाभित्र भएका साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न सकिने आधार तयार भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा रहेका १८ वटै नगरपालिकाबीचको साझेदारीमा उपत्यकाको फोहोर व्यवस्थापन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा संरक्षण, पार्क निर्माण ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण गर्न सहज भएको छ । “अन्तरपालिका सहकार्यले उपत्यकालाई व्यवस्थित सहर निर्माण गर्ने कार्यका लागि आधार तयार भएको छ”, उहाँले भन्नुभयो, “अन्तरपालिका सहकार्यलाई निरन्तरता दिँदै उपत्यकाको साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न सकिन्छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?