logo
२०८२ भाद्र २१ शनिवार



सहमतिमा मात्र एमसीसी र अर्ली इलेक्सनः परराष्ट्रमन्त्री खड्का

राष्ट्रिय |
प्रदेश |


सहमतिमा मात्र एमसीसी र अर्ली इलेक्सनः परराष्ट्रमन्त्री खड्का


गोकुल पराजुली
विराटनगर, कात्तिक ६ गते । परराष्ट्रमन्त्री डा. नारायण खडकाले दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अर्ली इलेक्सनको सम्भब नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्नुहुँदै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने बताउनुभयो । सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको उहाँको भनाइ छ । ‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भन्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको बताउनुभएको छ । गठबन्धन दलहरुबीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषय पनि टुंगिने मन्त्री खड्काले बताउनुभयो ।

प्रदेश सरकार गठनलगायतका विषयमा गठबन्धनमा प्याकेज सहमति हुने बताउनुहुँदै अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा गठबन्धन दलमा अन्तिम टुंगो नलागिसकेको जानकारी दिनुभयो । प्रदेश १ सरकारको नेतृत्व अझै पनि काँग्रेसले गर्ने सम्भावना जीवित रहेको मन्त्री खड्काको भनाइ छ ।

मन्त्री खड्काले नेपालको नक्सा बमोजिमको नेपाली भूभागका विषयमा देखिएको समस्या समाधानका लागि सरकारले छलफल बढाउने जानकारी दिनुभयो । यसअघि सरकारले पठाएका कूटनीतिक नोटहरुको अध्ययन गर्ने काम भइरहेको भन्दै लिपुलेक कालापानी क्षेत्रमा राष्ट्रिय जनगणना कार्यक्रम सञ्चालन गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउने उहाँले बताउनुभयो । मन्त्री खड्काले सरकारमा सहभागी गठबन्धनमा आबद्ध दलहरुबीच सहमति नगरी सरकार अर्ली इलेक्सनमा नजाने पनि बताउनुभयो ।

मन्त्री खड्काले काँग्रेसको महाधिवेशन पुस महिना अघि सम्भव नरहेको बताउनुभयो । कतिपय जिल्लामा वडा अधिवेशनहरु हुन नसकेको र पालिका अधिवेशन तथा जिल्ला अधिवेशनहरु बाँकी रहेकोले केन्द्रीय महाधिवेशन गर्न समय लाग्ने उहाँको भनाइ छ । परराष्ट्रमन्त्री गृहजिल्ला उदयपुर र सुनसरीको कार्यक्रममा सहभागी हुन यता आउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?