logo
२०८१ पुष १३ शनिवार



सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक - मन्त्री पौडेल

राष्ट्रिय |
प्रदेश |


सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक - मन्त्री पौडेल


ठाकुरप्रसाद आचार्य
बेनी, कात्तिक १६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चारक्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभएको छ । मुलुकको लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै मन्त्री पौडेलले लोकतन्त्रको संस्थागत विकास र देशको समृद्धिका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने समय आएको बताउनुभयो ।

प्रेस सेन्टर म्याग्दीको चौंथो जिल्ला सम्मेलनलाई बेनीमा उद्घाटन गर्दै मन्त्री पौडेलले समग्र विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो “प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिवद्ध छ ।”

मन्त्री पौडेलले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत् भूमिका निर्वाह गर्न पत्रकारलाई अनुरोध गर्नुभयो ।

बाग्लुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दीलगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । सम्मेलनपछि भएको शिक्षक, विद्यार्थी र शिक्षा विकास तथा समन्वय एकाइका कर्मचारीहरुसँगको भेटघाटका क्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्रको समस्या समाधानमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

यसैगरी सम्मेलनले कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पदम विश्वकर्मा, आशिका मल्ल, सचिवमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रीय परिषद् सदस्य पनि सर्वसम्मत चयन गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

सम्मेलनको अवसरमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको थियो । सेन्टरले वि.स. २०७१ मा द्धन्द्धकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन के.सीको स्मृतिमा एक लाख रुपियाँको कोष स्थापना गरेको थियो । प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने पुरस्कार यसअघि कमल खत्री, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्काले प्राप्त गरिसक्नुभएको छ ।

सम्मेलनमा नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस सेन्टरका प्रदेश संयोजक अर्जुन काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस चौतारीका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका अध्यक्ष राकेश शर्मालगायतले म्याग्दीका पत्रकारहरुको क्षमता विकासका साथै पत्रकार महासंघ म्याग्दी शाखाको भवन निर्माणमा सघाउन मन्त्री पौडेललाई आग्रह गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?