शैलेन्द्र रोकाया
बझाङ, कात्तिक १७ गते । गृहमन्त्री तथा कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडी जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताउनुभएको छ ।
बाढी पहिरोका कारण भएको क्षतिको निरिक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिका आउनु भएका मन्त्री खाँणले बाढी पहिरोकाकारण बझाङलगायत अधिकाशं जिल्लामा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै संकटग्रस्त जिल्ला घोषणा गरी पूर्वाधार निर्माणमा जोड दिने प्रतिवद्धता जनाउनुभएको हो ।
हेलिकप्टरमार्फत बझाङ आउनुभएका मन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढी पहिरोबाट प्रभावित स्थानीय नागरिकहरुसँगको भेटमा बझाङ जिल्लामा आफु आइपुग्दा निकै स्तब्ध भएको बताउनुभयो ।
प्रधानमन्त्री बिदेशबाट फर्किसकेपछि मन्त्री परिषदको निर्णयबाट बझाङ जिल्लालगायत बैतडी र डडेल्धुरा जिल्लालाई बिपदग्रस्त क्षेत्र घोषणा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । प्रभावित परिवारलाई तत्काल राहत लिन प्रक्रिया पुर्याएर प्रमुख जिल्ला अधिकारीमार्फत राहत लिन समेत आग्रह गर्नुभयो ।
बाढी पहिरो पीडित नागरिकलाई तत्काल सरकारले राहतका कार्यक्रम ल्याउन कुनै पनि कसर बाँकी नराख्ने बताउँदै सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य गर्न आग्रह गर्नुभयो । उहाँले मृतक परिबारका साथै घर समेत पहिरो तथा बाढीबाट नष्ट भएका परिबारका लागि तत्कालै सरकारले प्रतिपरिवार ५० हजार रुपियाँ दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिको बारेमा जानकारी गराउनुभयो । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले जिल्लामा भएको क्षति बारेमा जानकारी गराउनु भएको थियो । जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढी पहिरोका निरिक्षण गर्नुभयो ।
असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बाढी पहिरोबाट जिल्लामा १२ जनाको मृत्यू भएको थियो । १९ जना बेपत्ता भएका थिए । बाढी पहिरोबाट हजारौ हेक्टर जमिन बगरमा परिणत हुनुका साथै झण्डै एक सयभन्दा बढी परिबार बिस्तापित भएका छन् ।