शिवशंङ्कर मिश्र
बारा, कार्तिक २० गते । यमपञ्चक अर्थात् तिहारको पाँचो दिन मध्यतराई मधेशमा महिलाको समूहले लाम लागेर भैयादूज मनाएका छन् । दिदीबहिनीहरुले आप्mना दाजुभाईको शत्रुलाई श्राप दिँदै सूर्य भगवानसँग दाजुभाईको दीर्घायुको कामना गरेका छन् ।
यसरी तराईका जिल्लाहरुमा महिलाको समूहले चोकचोकमा बाटो छेकेर सूर्य भगवानसँग प्रार्थना गर्दै दाजुभाईको दीर्घायुको कामना गरेका छन् । बाराको महागढीमाई, कलैया, सिम्रौनगढ, कोल्हवी, डुमरवाना लगायतको ठाउँमा भैयादूज अर्थात भाईटिका, यमपञ्चक मनाएका छन् ।
आजको दिनलाई दिदीभाईको प्रेमको प्रतीक पनि मानिन्छ । दिदीबहिनीको हातबाट दाजुभाईले खाना खाएपछि कपडा, आभुषण लगायत केही उपहार दिएमा धन तथा उत्तम सम्पदा प्राप्त हुने स्कन्दपुराणमा उल्लेख रहेको छ ।
आजको दिन यमुना नदीमा स्नान गरेमा मृत्युपरान्त यमलोकबाट छुटकारा अर्थात् यमलोकको दर्शन नहुने नारद पुराणमा उल्लेख रहेको कलैयाका ज्योतिषाचार्य एवम् पौरोहिताचार्य पंडित ज्ञानेन्द्र पाण्डेयले बताउनुभयो ।
सूर्यको पुत्री यमुना नदीमा आजको दिन स्नान गरी धानको (लावा) भुजा, फूलको माला लगाएर यमको पूजा गरेमा आयु बढ्नुको साथै धन, यश, तथा दीर्घायुको प्राप्ति हुने उहाँले जानकारी दिनुभयो ।
यसैगरी, सूर्योदय हुनु अघि दिदीबहिनीहरुले सामूहिक रुपमा गाईको गोबर, माटोको हाडी माथि लौरो (लाठी) ले दाजुभाईका शत्रुलाई गोधन कुटाई गरेका छन् । गोधन कुटाई गर्ने बेला (कुटिले भैयाके दुशमन आठो पहर दिनरात ) जस्ता लौकिक गीतहरु गाइएको कलैया उपमहानगरपालिका वडा नम्बर–१३ की ९३ वर्र्षीय राधिका देवी ब्राह्मिणीले बताउनुभयो ।
आजको दिन शनिबारदेखि छठ पर्वको सुरुवात पनि भएको उहाँले भन्नुभयो । छठब्रतमा चोखो खाना, ठेकुवा, केसार लगायतको सामग्री बनाउन आज ल्याइएको माटोबाट बनाइएको चुल्हो प्रयोग गर्ने गरिन्छ उहाँले बताउनुभयो ।
यसैगरी, तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज शनिबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।