logo
२०८१ मंसिर ८ शनिवार



भूकम्पपछि निजी आवास बने तर बस्ने छैनन्, अधिकांश घरमा ताला

राष्ट्रिय |
प्रदेश |


भूकम्पपछि निजी आवास बने तर बस्ने छैनन्, अधिकांश घरमा ताला


बाबुराम शर्मा
चरीकोट, कात्तिक २१ गते । गतको आम विनाशकारी भूकम्पले ध्वस्त पारेको करिब छ वर्षको अबधिमा दोलखामा ६३ हजारभन्दा बढी निजी आवास पुर्ननिर्माण सम्पन्न भए तापनि करिब चार हजार घरमा ताला लगाइएको छ ।

गत २०७२ वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिका र सात गाउँपालिकाका ७४ वडामा निर्माण भएका यहाँका ९०.२५ प्रतिशत अर्थात् ६३ हजार २६२ घरमध्ये चार हजार घरमा बस्ने मान्छे नभएर ताला लगाइएको महालेखा परीक्षकको कार्यालयको कार्यमूलक लेखा परीक्षण प्रतिवेदन २०७७ ले देखाएको छ ।

रोजगारीको सिलसिला, वैदेशिक रोजगार र नयाँ अवसरको खोजीमा जिल्लाबाट बाहिरिएका लाभग्राहीहरुले निर्माण गरेका ती घरहरु उपयोग नभएपछि ताला लगाइएको पाइएको हो । भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ अनुसार पुनर्निर्माण  प्राधिकरणबाट प्रवाह भएको अनुदानबाट निर्मित निजी आवास उपयोगमा ल्याइएको हुनु पर्ने उल्लेख छ । आवश्यकताको आधारमा सार्वजनिक कोषको उपयोग गरिनु पर्नेमा गलत लाभग्राही पहिचान भएबाट त्यस्ता घरमा मान्छे नबसेर ताला लगाउनु परेको प्रतिवेदनमा औंल्याइएको छ । 

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाका प्रमुख रामप्रसाद पोखरेलले अनुदानबाट बनेका धेरै घरहरु उपयोगविहीन अवस्थामा रहेको गुनासो आइरहेको जानकारी दिँदै प्राधिकरणले भूकम्प प्रतिरोधी घर बनाउन मात्र नभई अनुदानबाट बनेका घरहरुको उपयोगको अवस्था के कस्तो छ भन्ने विषयमा पनि खोजी गर्नु पर्ने अवस्था देखा परेको बताउनु भयो ।

कालिञ्चोक गाउँपालिका–८, सुनखानीका वडाध्यक्ष नन्दराज शिवाकोटीले आफ्नो वडाका करिब डेढ सय घरमा मान्छे नबसेर ताला लगाएर राखिएको बताउनु भयो ।

गौरीशङकर गाउँपालिका–७ मार्बुका स्थानीय निमा शेर्पा भन्नु हुन्छ, केही घरमा ज्येष्ठ नागरिक बाहेक ६० प्रतिशत घरहरुमा ताला लगाइएको अवस्था छ ।’ जिरी नगरपालिका–६, जिरीका शिक्षक केन्द्रज्योति खड्काले भन्नु भयो, स्थानीयस्तरमा कामको अवसर तथा रोजगारीको व्यवस्था नहुनु र शिक्षा, स्वास्थ्य, आधुनिक सुविधा भोगका लागि घर बनाएर ताला लगाएर ठूलो सहरमा जानुको विकल्प नदेखेको हुनसक्छ ।

जिलु र बोसिम्पा एकीकृत बस्ती तथा दोलखा सम्पदा बस्तीको पुनर्निर्माणमा आएको सुस्तताले जिल्लाको समग्र निजी आवास पुनर्निर्माणको प्रगति प्रतिशत कम देखिएको भवन तथा आवास जिल्ला आयोजना इकाइका ईन्जिनियर अनन्त पौडेलको दुःखेसो रहेको छ ।

जिलु र बोसिम्पा एकीकृत बस्तीको करिब ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्याङकले देखाएको छ । एतिहासिक सहर दोलखाको ५८५ घरलाई सम्पदा बस्ती बनाउने भनिए पनि अझै २३१ घर पुनर्निर्माण गर्न बाँकी नै रहेको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठ जानकारी दिँदै भन्नु भयो, त्यसमध्ये पनि ५५ घरमा १३८ लाभग्राहीको बहुस्वामित्व भएको कारण सबैभन्दा जटिल हुन पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?