लोकेन्द्र जोशी, गोकर्ण दयाल
दार्चुला, कात्तिक २४ गते । पूर्व प्रधानमन्त्री एबं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या समाधान गर्न नयाँ पार्टीको स्थापना गरिएको बताउनुभएको छ ।
दार्चुलाको गोकुलेश्वर बसपार्कमा आयोजित एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “नेपालको राजनीतिमा नेकपा (एकीृकत समाजवादी) कम्युनिष्ट आदर्शप्रति समर्पित हुन, जनताको सेवा गर्न र समाजमा रहेका बिकृति बिसंगतिलाई अन्त्य गर्दै जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारीको व्यवस्था गर्ने उद्देश्यले गठन गरिएको हो ।”
राष्ट्रियसभा निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा उपनिर्वाचनमा पाँच दलिय गठबन्धन कायमै रहने उहाँले प्रष्ट पार्नुभयो । एकीकृत समाजवादी, नेकपा (माओबादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर एमालेविरुद्ध निर्वाचन लड्ने उहाँको भनाई छ । एकीकृत समाजवादीमा जनलहर बढ्दैगएको बताउदै उहाँले कार्यकर्ताहरुलाई उत्साहित भएर पार्टी काममा लाग्न निर्देशन दिनुभयो ।
विमानस्थलका लागि बजेट विनियोजन गर्छुः मन्त्री आले
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले गोकुलेश्वर विमानस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ । दार्चुलाको गोकुलेश्वरमा सो पार्टीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
मन्त्री आलेले भन्नुभयो, “दार्चुलाको गोकुलेश्वरमा बनिरहेको इअरपोर्ट, जसको बजेट एकदमै न्यून छ, न्यून बजेट भएकोले यो इअरपोर्टको टर्मिनल भवन, रनवे, टेक्सी वे सम्मको लागि जति बजेटको आवश्यकता पर्छ विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” यस्तै मन्त्री आलेले मालिकार्जुन धामको विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ठगुन्नाको अध्यक्षतामा जिल्ला कमिटी घोषणा
नेकपा (एकीकृत समाजवादी) को दार्चुला जिल्ला कमिटी घोषणा गरिएको छ । नौगाड गाउँपालिका घर भएका बीरबहादुर ठगुन्ना (बिरेन्द्रकुमार ठगुन्ना) को अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।
कमिटी उपाध्यक्षमा रुक्मती जागरी, राधिका अवस्थी र किशनसिह धामी (प्रेमसिह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष) चयन हुनुभएको छ । सचिवमा जनकसिंह डागा र उपसचिवमा गंगादत्त जोशी, बिष्णुराम हुम्ली, यमुना जोशी र बाशुदेब जोशी चयन हुनुभएको छ ।
नेकपा एसका केन्द्रीय अध्यक्ष एबं पूर्वप्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा जिल्ला कमिटी घोषणा गरिएको हो । जिल्ला कमिटीमा चयन भएका सबैलाई अध्यक्ष नेपालले सपथ ग्रहण गराउनुभयो ।