राममणि दाहाल
हेटौँडा, कात्तिक २५ गते । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबाट एक एक जना गरी दुई जना मन्त्री थप गर्दै हुनुहुन्छ ।
माओवादी केन्द्रका तर्फबाट शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र काँग्रेसका निमा लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुहुने काँग्रेसका एक प्रदेश सभाका सदस्यले जानकारी दिनुभयाे । मन्त्रीमा नियुक्तसँगै साँझ ५ बजे शपथग्रहण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत लिनुभएका पाण्डेले पहिलो चरणमा चार सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
यसअघि कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी माेक्तानलाई सामाजिक विकास मन्त्रालय र कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय सम्हाल्दै आउनुभएको थियो ।