logo
२०८१ मंसिर १५ शनिवार



सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ

राष्ट्रिय |


सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ


काठमाडौं, कात्तिक २५ गते । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि नौ वटा इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आफ्नोसहित तीन एकल, एक पूर्ण र पाँच संयुक्त इजलास तोक्नुभएको थियो ।
प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा भने बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामात्र राख्नुभएको थियो । उहाँले आफ्नो इजलासमा रहेको छ वटै मुद्दाको सुनुवाइ गर्नुभएको छ । उहाँले छ वटै मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जारी गर्नुभएको छ ।
यसैगरी न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पनि बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको छ । न्यायाधीश सुवेदीदे बन्दी प्रत्यक्षीकरणको मुद्दामा ‘कारण देखाउ आदेश’ जारी गर्नुभएको छ भने अन्य तीन वटा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राख्नुभएको सर्वोच्चले जनाएको छ ।
त्यस्तै न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार चुडालको संयुक्त इजलासले बन्दी प्रत्यक्षकरणको दुई मुद्दामा ‘निवेदन फिर्ताको आदेश’ जारी गरेको छ भने अन्य मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
यसैगरी न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पनि बन्दी प्रत्यक्षीकरणको दुई मुद्दामा मात्र सुनुवाइ भएको छ । न्यायाधीशद्वय श्रेष्ठ र रेग्मीले बन्दी प्रत्यक्षीकरणको दुई मुद्दा ‘तामेली’मा राख्ने आदेश दिनुभएको हो भने अन्य मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राख्नुभएको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेको छ । न्यायाधीश श्रेष्ठले एउटा मुद्दामा ‘कारण देखाउ आदेश’ जारी गर्नुभएको छ भने अर्को एक मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राख्नुभएको छ ।
त्यस्तै न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसी, न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासको बेन्च बसेन । साथै न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको पूर्ण इजलासको पनि बेन्च नबसेको सर्वोच्चले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?