logo
२०८१ मंसिर १२ बुधवार



नागरिकको हितमा काम गर्न मुख्यमन्त्रीको निर्देशन

राष्ट्रिय |
प्रदेश |


नागरिकको हितमा काम गर्न मुख्यमन्त्रीको निर्देशन


 

बेलिना थापा

लमजुङ, कात्तिक २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लमजुङका सरकारी कार्यालयका प्रमुखहरुलाई नागरिकको हितमा रहेर काम गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री नेपाली पोखरेलले शनिबार जिल्ला प्रशासन कार्यालय लमजुङमा सरकारी कार्यालय प्रमुखसंगको भेटघाटमा उक्त निर्देशन दिनुभएको हो । उहाँले कार्यालय प्रमुखहरुलाई नागरिकलाई जसरी हुन्छ सहज सेवा दिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो–‘सरकार परिवर्तन भएपनि स्थायी सरकारको प्रतिनिधी कर्मचारी हो । सरकारको अन्तिम कार्यन्वयनको जिम्मा कर्मचारीलाई छ । कर्मचारीले राम्रो काम गरेमा सरकार राम्रो भएको मानिन्छ । राम्रो काम नभएमा सरकार नराम्रो मानिन्छ ।’

विगतमा जसरी लागेका थिए त्यसरी नै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो । सरकारी कार्यालयका कर्मचारी आआफ्नो ठाउँमा जन पक्षीय रुपमा प्रस्तुत हुनुपर्ने उहाँको भनाई थियो । कर्मचारीहरुले जनताको पक्षमा, विकास र समृद्धिको पक्षमा काम गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले बाँकी कार्यकालमा जनताको पक्षमा नै काम गर्ने बताउनुभयो । स्रोत साधनले भ्याएसम्म नागरिकको सहजताका लागि काम गर्ने, आवश्यकता सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री नेपाली पोखरेलले हाल प्रदेश सरकारले कोभिडका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार खर्च दिने गरेको बताउनुभयो । मृत्यु भएकाको परिवारलाई ५० हजार खर्च दिने बताउनुभयो । यस्तै, महिलामा हुने स्तन र पाठेघर क्यान्सरको उपचार निःशुल्क गरिएको र यो कार्यन्वयनको अवस्थामा रहेको उहाँको भनाई छ ।

प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने योजना अघि सारिएको र मानव सेवा आश्रमसंग सम्झौता गरिएको बताउनुभयो । अब कोही पनि नागरिक सडकमा बेवारिसे अवस्था नहुने उहाँले बताउनुभयो । त्यस्तो भेटिएमा खबर गर्न पनि आग्रह गर्नुभएको छ । प्रदेश सरकारले नागरिकका हितका लागि विपन्न नागरिकको घरघरमा पुग्ने कार्यक्रम, मुख्यमन्त्री नमुना गाउँ कार्यक्रम जस्ता अघि सारेको बताउनुभयो ।

कोभिडको महामारीको अवस्थामा सबैको सहयोगका कारण प्रदेश सरकारले उत्कृष्ट काम गर्न सफल भएको बताउनुभयो । अस्पताल स्थापना, अक्सिजन प्लान्ट, आइसियुको व्यवस्था भएको बताउनुभयो । अघिल्लो सरकारले पनि कोभिड नियन्त्रणमा राम्रै काम गरेको उल्लेख गर्नुभयो । उहाँले सरकारी कार्यालयको अवस्था र समस्याको बारेमा पनि बुझ्नु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले प्रदेशले नागरिकको रक्षाका लागि काम गर्दै आएको बताउनुभयो । स्वास्थ्य क्षेत्र सम्वेदनशील क्षेत्र भएकाले यसमा सरकार सचेत रहेको बताउनुभयो । लमजुङका गाउँवस्तीमा बाढीपहिरोका कारण क्षति भएकाले यसमा प्रदेश सरकारले आवास निर्माणका लागि पहल गरेको गरेको बताउनुभयो ।

विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकार नागरिकको साथमा रहेको बताउनुभयो । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जिल्लाको शान्ति सुरक्षा, वर्तमान अवस्था र समस्याको बारेमा जानकारी गराउनुभएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तोपलाल भुषालले स्वागत गर्दै कार्यालयको प्रगति सुनाउनुभएको थियो ।

यस्तै, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्त, स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले कार्यालयको गतिविधिका बारेमा बताएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?