logo
२०८१ मंसिर ८ शनिवार



पर्यटनको विकासका लागि धार्मिक सङ्ग्रहालय आवश्यक - नेता नेपाल

राष्ट्रिय |
प्रदेश |
पर्यटन |


पर्यटनको विकासका लागि धार्मिक सङ्ग्रहालय आवश्यक - नेता नेपाल
संस्कृतिमन्त्री प्रेमबहादुर आलेलगायत एकिकृत समाजवादीका अध्यक्ष नेपाल । तस्बिर - डिलबहादुर सिंह



डिलबहादुर सिंह
डोटी, मङ्सिर १ गते । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले धार्मिक पर्यटन विकासका लागि हिन्दु धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रहरुको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय सङ्ग्रहालय निर्माण हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
डोटी जिल्ला सदरमुकाम सिलगढीस्थित प्रसिद्ध धार्मिक क्षेत्र शैलेश्वरी मन्दिरमा दर्शन गर्न पुग्नुभएका अध्यक्ष नेपालको सम्मान शैलेश्वरी क्षेत्र विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएको समयमा सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको गुनासो गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, – ‘म प्रधानमन्त्रीबाट बाहिरिएपछि थुप्रै प्रधानमन्त्री र अर्थमन्त्रीहरु आउनुभयो तर धार्मिक सङ्ग्रहालयको विषयलाई कसैले पनि प्राथमिकतामा राख्न सक्नुभएन, तर वर्तमान सरकारका अर्थमन्त्रीले यो विषयमा चासो दिनुभएको छ अव चाँडै धार्मिक सङ्ग्रहालय निर्माण गर्ने कार्यले सफलता पाउने आशामा छु ।’
भारतको दार्जिलिङ्गमा भारतका विभिन्न चारवटा धामहरुको झल्को दिने गरी स्थापना गरिएको धार्मिक संग्रहालयले लाखौं हिन्दु धर्मालम्बीहरुलाई आकर्षित गरेको जानकारी दिनुहुँदै नेपालमा पनि प्रमुख धार्मिकस्थलहरु र धामहरुको एउटै संग्रहालयबाट दर्शन गर्न सकिने व्यवस्था गरिए देश बाहिरबाट समेत धार्मिक पर्यटक भित्र्यान सकिने कुरा बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगै शैलेश्वरी दर्शनका लागि पुग्नुभएका नेता नेपालको आज नै डोटीको दिपायल सिलगढी नगरपालिका –७ मा पाँकरी र डोटीको प्रसिद्ध धार्मिकस्थल बडिकेदार दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?