काठमाडौँ । मङ्सिर ३ गते । बिहीबार नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा गरेको विरोध कार्यक्रममा भएको अप्रिय अवस्थाप्रति सार्वोच्च अदालतले दुःख व्यक्त गरेको छ । शुक्रबार सर्वोच्चले विज्ञप्ति सार्वजनिक गर्दै बिहीबारको घटनाप्रति दुःख व्यक्त गरेको हो ।
धरपकडमा विद्वान कानुन व्यवसायी घाइते भएको भन्दै अदालतले उहाँहरुको स्वास्थ्यलाभको कामना गरेको छ । ‘नेपाल बार एशोसिएशनद्वारा मिति २०७८/०८/0२ मा सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रमको क्रममा सिर्जना हुन गएको अप्रिय अवस्थाप्रति सर्वोच्च अदालत प्रशासन गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा केही विद्वान कानुन व्यवसायी घाइते हुनुभएको जानकारी प्राप्त भएको हुँदा उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा बारले गरेको विरोध प्रदर्शनमा धडपकड हुँदा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते हुनुभएको छ । फेरि त्यो अवस्था आउन नदिन अदालत प्रशासन, गम्भीर र संवेदनशील भएको भन्दै विज्ञप्तिमा सबैलाई आवश्यक संयमता, सहयोग र समन्वय गर्न अनुरोध गरेको छ ।