गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ४ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । शनिबार रौतहटमा आयोजित कार्यक्रममा उहाँले प्रदेश नम्बर २ माओवादीमय बन्दैगएको बताउनुहुदैँ आगामी चुनावमा पहिलो पार्टी बन्ने जिकिर गर्नुभएको हो ।
विगतमा माओवादी केन्द्रले मधेशलगायत महिला, आदिवासी जनजाति, दलित, मुस्लिम र पिछडिएका वर्गहरुको हक, अधिकारकानिम्ति संविधान संशोधनको प्रस्ताव अघि सारिएको विषय पनि उहाँले स्मरण गराउनुभयो ।
पछिल्लो समय मधेसमा माओवादी केन्द्रले संघियताको मुद्दा छोडिसक्यो भन्नेजस्ता भ्रमहरु फैलाइएको बताउनुहुँदै उहाँले भ्रम चिर्नकै लागि पनि विगतमा आफूले मधेशबाट निर्वाचन लडेको बताउनुभयो । “पहिलो चुनाव रोल्पा र काठमाडौंमा लडेर जितें । मधेशमा भ्रम फैलाइयो त्यसैले भ्रम चिरेर प्रधानमन्त्री बन्नुपर्छ भनेर मधेशमा आएँ । मधेसी जनताको वास्तविक हक, अधिकारको लडाई माओवादीले मात्रै गर्न सक्छ” उहाँले भन्नुभयो ।
यस लगायत प्रतिनिधिसभा विघटनप्रति ईङ्गित गर्नुहुदै उहाँले महिला, आदिवासी जनजाति, पिछडिएकाहरुको अधिकार उठाउने प्रयास एवम् संविधान च्यात्ने दुस्साहस गरिएको पनि बताउनुभयो । उहाँले यसकाविरुद्ध आफूहरुले शान्तीपूर्ण ढंगबाट सडकमा विद्रोह गरिएको पनि बताउनुभयो ।