विजयकुमार साह
ढल्केवर, मङसिर ५ गते । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकको ठूला परिवर्तनहरुमा काँग्रेसको नेतृत्व रहँदैआएको बताउनुभएको छ । काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत आइतबार जनकपुरधाम नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो ।
उपसभापति निधिले काँग्रेसको अगुवाइमा नै मुलुकमा सङ्घीयता, गणतन्त्र, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षतासहितको संविधान निर्माण भएको बताउँदै यसमा समयसापेक्ष परिमार्जन गरेर सबैको माग सम्बोधन हँुदै जाने बताउनुभयो ।
काँग्रेस महाधिवेशन सफल बनाउन सकभर काँग्रेसका सबै तहको नेतृत्व सर्वसम्मत गर्न जिल्ला तथा क्षेत्रका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मुलुकमा शान्ति, विकास तथा समृद्धिका लागि पनि काँग्रेसको १४ औं महाधिवेशनलाई सफल बनाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभया ।
उपसभापति निधिले मुलुकमा भएको विकृति एवं विङगतिको अन्त्य गर्न काँग्रेसका नेता तथा कार्यकर्ता शासक नभइ सेवकको रुपमा कामकाज गर्न आवश्यक भएको सुझाव दिनुभयो । काँग्रेसका नेता एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले काँग्रेस महाधिवेशनले काँग्रेस नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा थपिएको बताउनुभयो ।
काँग्रेस जनकपुर नगरसभापति मनोजकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभाका सदस्य स्मृतिनारायण चौधरी सहितका नेताहरुले बोल्नु भएको थियो ।