गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ५ गते । निमित्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले सरुवा तथा काज भएर कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकलाई निर्देशन दिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा निमित्त महानिरीक्षक शाहलिे निर्देशन दिनुभएको हो । निर्देशनका क्रममा शाहीले संगठनको नीति निर्देशन एवं प्रचलित ऐन नियमअनुसार परिचालित भएर संगठनले लिएको विश्वास कायम राख्नुपर्नेमा जोड दिनुभयो । संगठनकै मूल्याङकनको कारण प्राप्त जिम्मेवारीलाई पूर्ण नैतिकका साथ निष्पक्ष र पारदर्शी भएर उपयोगिता गर्न उहाँले निर्देशन दिनुभयो ।
निमित्त प्रहरी महानिरीक्षक शाहीले अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रण लगायतमा विशेष चनाखो रहेर सामूहिक भावनाका साथ उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो ।
आफ्नो जिम्मेवारी कार्यान्वयन गर्दा समन्वय र समदूरी कायम गरेर काममा सफलता हाँसिल निर्देशन दिनुभयो । उक्त अवसरमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्षमतालाई ख्याल गर्दै राम्रो आचरण र व्यवहारका साथ पारदर्शी एवं निष्पक्ष तरिकाले थप सुधारका काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उच्च व्यवसायिकता र आचरणलाई कायम राखी निस्वार्थ भावनाबाट काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक रविन्द्रबहादुर धानुकले प्रहरी प्रधान कार्यालय कार्य विभागको तर्फबाट, प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट र प्रहरी नायव महानिरीक्षक राजेश कुमारलाल कर्णले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको तर्फबाट निर्देशन दिनुभएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।