सिराज खान
नेपालगञ्ज, मङ्सिर ६ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले वर्तमान सरकारले खेल पूर्वाधारको निर्माण र ती पूर्वाधारको संरक्षणका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ । नेपालगञ्ज रंगशाला लगायत रंगशाला परिसरमा निर्माण गरिएका महत्वपूर्ण खेल पूर्वाधारहरुको सोमबार निरीक्षण गर्दै उहाँले खेल पूर्वाधार निर्माण गरेर त्यसको संरक्षण नगर्ने हो भने निर्माणको कुनै अर्थ नरहेको बताउनुभयो ।
उहाँले संरक्षणको अभावमा धेरै खेल पूर्वाधारहरु जिर्ण हुने गरेको र अलपत्र पर्ने गरेको गुनासो व्यापक आएकाले मन्त्रालयले संरक्षणका लागि विशेष नीति र कार्यक्रम नै ल्याउने बताउनुभयो ।
नेपाललाई विश्वमा खेलाडीको देशका रुपमा स्थापित गर्ने लक्ष्यका साथ आफू मन्त्रालयमा आएको जनाउँदै खेलकुदमन्त्री गहतराजले त्यसका लागि बढी भन्दा बढी प्रतियोगिता, प्रशिक्षण, राम्रो खेल पूर्वाधार र निष्पक्ष छनौट जस्ता विषयलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो ।
सो अवसरमा रंगशाला परिसरमा राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरुले मन्त्रीको स्वागत र सम्मान गरेको मध्यपश्चिम क्षेत्रीय खेलकुद समितिका कार्यालय प्रमुख महेश चन्दले बताउनुभयो ।
उहाँले कर्मचारी, प्रशिक्षक र खेलप्रेमीहरुले सो अवसरमा मन्त्रीसँग नेपालगञ्ज र कोहलपुरलाई खेल पूर्वाधारको हब बनाउन माग गरेको बताउनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम ओलीले नेपालगञ्जलाई पश्चिम नेपालकै खेल राजधानी बनाउनुपर्ने कुरा उठाउनु भएको थियो ।