काठमाडौं, मङ्सिर ९ गते । सर्वोच्च अदालतमा आज ‘फुलकोर्ट’ बैठक बस्दैछ । सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले बिहीबार दिउँसो २ बजे फुलकोर्ट बैठक बस्न लागेको जानकारी दिनुभयो ।
गोलाप्रथा प्रक्रियाबाट पेशी कहिलेबाट तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्न लागेको हो ।
प्रशासनले पनि आज फुलकोर्ट बैठक बस्न लागेको जनाएको छ । तर, बैठकको एजेण्डबारे सर्वोच्च प्रशासनले जानकारी गराएको छैन । यता, नेपाल बार एशोसिएसनले आजै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्दैछ । जबराको राजीनामालाई मुख्य एजेण्डा बनाएको बारले विगत एक महिनादेखि विरोध कार्यक्रम जारी राखेको छ । यसअघि बारले बुधबार देशभरका उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोध प्रदर्शन गरेको छ ।