गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण शक्ति भएको बताउनुभएको छ । देशको प्रमुख दल पनि एमाले भएकाले पनि विश्वले उत्सुकतापूर्वक महाधिवेशनलाई नियालिरहेको बताउनुभयो ।
चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित उदघाटनसत्रमा सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले सो कुरा बताउनुभयो । दिगो शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य बोकेर राजनीतिक यात्रा प्रारम्भ गरिए पनि नेपाली राजनीतिक दलको गन्तव्य अझै स्पष्ट हुन नसकिरहेकाबेला एमालेका प्रतिनिधिहरुले त्यसमा गहिरो गरी मन्थन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
योजनाबद्ध र सङ्गठितरुपमा गरिदैआएको धर्म परिवर्तनले हामी नेपालीको सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भइरहेको बताउनुहुँदै अध्यक्ष थापाले देशभित्र सामान्य जागिर पाउन नसक्दा ४० लाख बढी नेपाली युवाहरु अरवको मरुभूमिमा रगत पसिना बगाउन बाध्य भएको उहाँले बताउनुभयो । नेपालमा अहिले बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीव्ररुपले बढेर गएको उहाँले टिप्पणी गर्नुभयो ।
नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक स्थल बन्ने खतरा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष थापाले भन्नुभयो, “देशले एमालेबाट साहासिक निर्णयको अपेक्षा गरेको छ, केपी ओलीजस्तो दृढ अडान र राष्ट्रबादी सोच बोकेको नेताले नेतृत्वको गरेको पार्टीले नै देशलाई सङ्कटबाट मुक्त गराउन सक्नेछ ।” अध्यक्ष ओलीसँग एउटै सरकारमा रहेर काम गरेको अनुभव रहेको बताउनुहुँदै उहाँले ओली राष्ट्रवादी नेता भएको बताउनुभयो ।
राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिन भारतीय नाकाबन्दीलाई समाप्त पार्न नेपाल सफल भएको चर्चा गर्नुहुँदै अध्यक्ष थापाले भन्नुभयो, “अध्यक्ष ओलीकै अडान र योजनाका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउन सक्षम भयौं ।” पार्टीभित्रको आन्तरिक कलह र विवादका कारण पछिल्लो पटक एमाले नेतृत्वको सरकारले सोचेजस्तो काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
मधेसमा देखापरेको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण मूलधारमा ल्याउने काम एमाले नेतृत्वको सरकारले गरेको छ, यो ठूलो सफलता हो । ओली नेतृत्वकै सरकारमा लिम्पियाधुरा, कालापानी नेपाली भूभाग समेटेर चुच्चे नक्सा बनाएर नेपाल र नेपालीलाई अविस्मरणीय गुन लगाएको उहाँले चर्चा गर्नुभयो ।