गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले दशौं महाधिवेशनबाट सर्वसम्मत रुपले सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभएको छ । एमाले दशौं महाधिवेशनको बन्दसत्रअघि गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
नेता पोखरेलले भन्नुभयो, “सक्षम टिम निर्माण गर्ने कुरा महाधिवेशनको मुख्य जिम्मेवारीको रुपमा छ । हामी सबै यसैमा केन्द्रीत छौं ।” पछिल्लो समय संगठनात्मक अराजकता कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतिका रुपमा देखापरेको पनि उहाँले बताउनुभयो ।
नेता पोखरेलले भन्नुभयो, “संगठनात्मक अराजकता आजको कम्युनिष्ट आन्दोलनको मुख्य चुनौतिका रुपमा देखापरेको छ । यसलाई सधैँका लागि अन्त्य गरिनुपर्छ, नत्र कम्युनिष्ट आन्दोलन सफल हुँदैन ।” कम्युनिष्ट आन्दोलनमा देखिएका विकृतिलाई टेकेर विरोधीहरुले बदनाम गर्ने अवसर पाइरहेको उहाँको भनाइ छ ।
एमालेमाथि बैचारिक र राजनीतिक रुपमा चौतर्फी घेराबन्दी भइरहेको भन्नुहुँदै नेता पोखरेलले यी सबै षड्यन्त्रबिरुद्ध लड्ने सशक्त नेतृत्व निर्माण गर्ने म्याण्डेट महाधिवेशनको रहेको बताउनुभयो । “नीतिगत रुपमा एमालेलाई नेपालको राजनीतिक दलमा सबैभन्दा व्यवस्थित पार्टीका रुपमा स्थापित गर्ने चुनौती हामीसामु छ, त्यसमा हामी केन्द्रीत छौं ।”
पार्टीको नीतिलाई कार्यान्वयन गर्ने सक्षम नयाँ कमिटी निर्माण गर्ने प्रयासमा रहेको र सर्वसम्मतरुपले नयाँ नेतृत्व चयन हुनेमा वातावरण बनेको उहाँले बताउनुभयो । हिजो राती बसेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीसहित सदस्य बढाएर भएपनि सर्वसम्मत बनाउने निर्णय भएपछि नयाँ केन्द्रीय कमिटी सहजरुपले चयन हुने विश्वास पलाएको उहाँले बताउनुभयो ।
नेता पोखरेलले भन्नुभयो, “अहिले हाम्रो पार्टीलक्षित जुनखालको राजनीतिक हमला भइरहेको छ, घेराबन्दी भइराखेको छ, त्यसकाबिरुद्ध अगाडि बढ्ने सन्दर्भका रुपमा सक्षम टिम निर्माण गर्न अनिवार्य छ ।” नयाँ नेतृत्वमा सक्षम समूह ल्याउने नै यो महाधिवेशनको प्रमुख चुनौति हो, यसमा सबैको ध्यान गएको छ भन्ने म ठान्छुँ उहाँले भन्नुभयो । नेता पोखरेलले दशौं महाधिवेशनबाट पार्टी महासचिवको जिम्मेवारीमा आउने इच्छा राख्नुभएको छ ।