गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ११ गते । नेकपा (एमाले) को जारी दशौं महाधिवेशनको दोस्रो दिन आज ढिलोगरी बन्दसत्र शुरुभएको छ । सहमतिको प्रयासमा नेतृत्व लागेपछि बन्दसत्र शुरु गर्न ढिलाइ भएको नेताहरुले बताउनुभएको छ । विहान साढे ८ बजेबाट शुरु गर्ने निर्धारित समयभन्दा करिब सात घण्टा ढिलो गरी साढे तीन बजे बन्दसत्र शुरु भएको हो ।
सौराहाको सेभन स्टार होटलको बैठक कक्षमा शुरु भएको बन्दसत्रमा विदेशी पाहुनाहरुले आज धारणा राख्ने कार्यक्रम रहेको एमाले नेताहरुले बताउनुभएको छ । विभिन्न देशबाट पठाइएको शुभकामना सन्देश पनि बैठकमा पढेर सुनाउने कार्यसूची रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
बन्दसत्रमा अहिले विदेशी पाहुनाहरुले धारणा राखिरहनुभएको छ । विदेशी पाहुनाहरुले धारणा राखिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य दिनुहुने कार्यक्रम तय भएको गोरखापत्रकर्मी दीपक श्रेष्ठले जानकारी दिनुभयो । मन्तव्यमा भारतीय प्रतिनिधिहरुले नेपालको कम्युनिष्ट पार्टीबाट भारतीय कम्युनिष्ट पार्टीले सिक्नुपर्ने विषय रहेको बताउनुभएको छ ।