logo
२०८१ मंसिर १३ बिहीवार



फागुन ७ गतेपछि गोरखापत्रको डिजाइनदेखि कण्टेनमा सुधार हुन्छ : अध्यक्ष सुवेदी

राष्ट्रिय |


फागुन ७ गतेपछि गोरखापत्रको डिजाइनदेखि कण्टेनमा सुधार हुन्छ : अध्यक्ष सुवेदी


जयकृष्ण यादव
इनरुवा, मंसिर १४ गते । गोरखापत्र राष्ट्रको सम्पत्ती भएकाले यसको सुधार संरक्षण र विकासमा सबै लाग्नु पर्नेमा जोड दिइएको छ । मंगलबार गोरखापत्र संस्थानद्वारा सुनसरीको इटहरीमा आयोजित प्रदेशस्तरीय अनुशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा सहभागीहरूले सो कुरामा जोड दिनु भएको हो ।
उद्घाटनसत्रलाई सम्बोधन गर्नु हुँदै प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गोरखापत्र राष्ट्रकोे सम्पती भएकाले प्रदेश सरकार साथ र सहयोगका लागि तयार रहेको बताउनुभएको थियो ।
उहाँले गोरखापत्र भाषा लिपि संस्कार संस्कृतिको बचाउनका लागि काम गर्दै समुन्नत समाजको निर्माणमा योगदान गरेको बताउनुभयो । अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले देशका आदीवासी जनजातीको भाषा लिपिलाई महत्व दिन आवश्यक रहेको र त्यसमा गोरखापत्रले योगदान गरेको बताउनुभयो ।
सो अबसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाली पत्रकारिताको इतिहास र राष्ट्रको गौरवको रुपमा रहेको गोरखापत्रलाई डिजिटल स्मार्ट प्रकाशनको रूपमा विकास गर्ने बताउनुभएको छ ।
अध्यक्ष सुवेदीले इतिहास लेखनको १२२ वर्षे अनुभव संगालो भएकाले यसलाई थप विकसित गर्दै डिजिटल स्मार्ट प्रकाशनको तयारीमा जुटेको बताउनुभयो ।
उहाँले इतिहास लेखनको दस्ताबेज समेत भएकाले त्यसलाई थप संरक्षण गर्दै १२२ वर्षे डिजिटल स्मार्ट प्रकाशन गर्ने र ती प्रशासनहरुलाई रोयल्टी तिरेर मात्र उपयोग गर्न पाउने गरी दुई काम थालेको बताउनुभयो ।
उहाँले परिवर्तनको अनुभव गर्न पाउने नेपाली पत्रकारिताको जिउँदो इतिहास बोकेको गोरखापत्र र यसका प्रकाशनहरूलाई ‘डिजिटल स्मार्ट प्रकाशन’ को रूपमा विकास गर्ने क्रममा जुटेको बताउनुभयो  । उहाँले आगामी फागुन ७ गतेपछि डिजाईनदेखि कण्टेनमा समेत निकै सुधार र परिवर्तन गरेको अनुभुत पाठकले गर्न पाउने गरी काम थालेको बताउनुभयो ।
सुवेदीले गाउँ शहरमा गोरखापत्र अभियान कार्यक्रम संचालनको तयारीमा समेत जुटेको बताउनुभयो । त्यसका लागि प्रत्येक प्रदेशमा नियमित प्रकाशन हुँदै आएको अङ्क भन्दा थप चार हजार प्रति बढी पत्रिका प्रकाशन गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।
उहाँले गोरखापत्र पढ्ने, हेर्ने र रुचाउनेहरु भएकाले प्रत्येक प्रदेशमा थप चार हजार प्रति पत्रिका प्रकाशन गरेर पठकको लागि लाने तयारीमा जुटेको बताउनुभयो ।
उहाँले सय वर्ष पुरानो दस्ताबेजहरु आफूहरुको लागि र देशका लागि सम्पती र गहना समेत भएकाले त्यसलाई थप आकर्षक बनाउने तर्फ लागेको बताउनुभयो ।
गोरखापत्र दैनिक र दी राईजिगं नेपालका सम्पादक तथा विभागीय प्रमुखहरू, भाषाभाषी पृष्ठका संयोजक र प्रदेशका समाचारदाताहरु सहभागी रहेको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गोरखापत्र एउटा अखबार मात्र नभएर पत्रकारिता जगत् र राष्ट्रको गौरव समेत रहेको बताउनुभयो । सुवेदीले गोरखापत्र र यसका प्रकाशनहरू कुनै दल वा सरकारका मात्र नभएर सिङ्गो राष्ट्रको सम्पत्ति भएकाले सोही अनुसारको कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्र गौरवशाली संस्था हो, यसलाई अझ विश्वसनीय, पाठनीय र प्रविधि तथा व्यावसायिक रूपमा विकास गर्नुपर्छ । यसका लागि सबैको साथ र सहयोग आवश्यक छ । हाम्रो भविष्य सुरक्षित र सुन्दर बनाउन गोरखापत्रलाई अझ राम्रो बनाउनुपर्छ ।”
गोरखापत्र पत्रकारिता क्षेत्रको जिउँदो इतिहास मात्र नभई, यो नेपाली सभ्यता र संस्कृतिको जीवन्त दस्तावेज भएकाले अहिलेको प्रविधि, गति र समयको मागअनुसार गोरखापत्र, दि राइजिङ नेपाल, मुना, मधुपर्क र युवामञ्चलाई अगाडि लानुपर्नेमा जोड दिनुहुदै पाठक र प्रविधिमैत्री रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्रले पुष्टी गरेको समाचार, सत्य, तथ्य र विश्वनीय सूचना मात्रै लेख्ने भएकाले पत्रकारिताको गौरवको रुपमा काम गरेको बताउनुभयो ।
उहाँले नागरिकका लागि पस्किने समाचार पुष्टी भएको र विश्वनीय समाचार मात्र पस्कने भएकाले स्थानीय, प्रदेश र संघीय सरकारलाई जोड्ने पुलको काम पनि गरेको बताउनुभयो । उहाँले सरकारको स्वामित्व भए पनि गोरखापत्र देशको गौरव भएको र पाठकको पनि सम्पती भएको बताउनुभयो ।
उहाँले गोरखापत्रमा प्रशासन हँुदै आएको नयाँ नेपालको ३८ भाषाभाषी पृष्ठलाई प्रभावको आधारमा निरन्तरता दिदै क्रमशः थप देशका १२६ वटै भाषामा प्रकाशनका लागि ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रको देश विकासमा पनि योगदान रहेकाले थप विकास गर्दै लानुपर्नेमा जोड दिनुभयो । प्रजिअ यादवले पत्रिकालाई प्रविधिमैत्री बनाउदै अनुसन्धानमुलक सन्देशहरु प्रकाशन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मोरगंका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नागरिकको जनजिविकासंग जोडेर सूचना र समाचार दिदै आएकाले गोरखापत्रले अझै पाठकहरुको चाहना र आवश्यकता सहित विकासको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रजिअ दाहालले आफू गोरखापत्र पढेर नै लोकसेवा पास गरेको चर्चा गर्नुहुदै यसलाई अझै गाउँगाउँमा पुरयाउनुपर्ने सुझाव दिनुभयो ।
उधोग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, शेपा भाषा पृष्ठका संयोजक आंदवा शेर्पा, ताजपुरीया भाषाका तेजेन्द्र ताजपुरीया, उराँव भाषाका बेचन उराँव, किसान भाषाका भीम किसान  लगायतले सुझाव राख्नुभएको थियो ।
सो अनुशिक्षण कार्यक्रममा कार्यकारी अध्यक्ष  सुवेदी, गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राईजिङ्ग नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलीया, उत्पादन विभागका प्रमुख अर्जुन बस्नेत, नयाँ नेपाल तथा समावेशीका संयोजक कुमार विवेकान्द मिश्र, वितरण विभाग प्रमुख सोम घले, प्रशासन विभाग प्रमुख ओम भुसाल सहितकाले प्रशिक्षण दिनुभएको थियो । आयोजक प्रदेश संयोजकले प्रमुख अथिति तथा अथितिहरु र गोरखापत्र संस्थानका अध्यक्ष, प्रधानसम्पादक सहित विभागिय प्रमुखहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?