गोरखापत्र समाचारदाता
दासढुङ्गा, मङ्सिर १६ गते । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मदन आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको छ । दसौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुङ्गामा रहेको मदन आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको हो ।
जनताको बहुदलीय जनवाद (जबज) एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ सङ्कल्प गर्नुभयो । बदलियो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्मअनुसार नै एमाले अगाडि बढ्ने बताउनुभयो ।
दसौँ महाधिवेशनस्थल सौराहाबाट दासढुङ्गा पुग्नुभएका पोखरेलले जनतालाई खुसी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताउनुभयो ।
उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यलगायतले मदन आश्रितको सालिकमा माल्यार्पण गर्नुभएको थियो । नेकपा
(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा मृत्यु भएको थियो । उहाँहरू चढेको जिप त्रिशूली नदीमा खसेको थियो ।