गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा देखिएको अन्यौल विसंगतिको प्रतिविम्ब भएको बताउनुभएको छ । अदालतको घटनाले कानुनीराजमाथि प्रश्न उठाएको उहाँले टिप्पणी गर्नुभयो ।
दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुनुभएका अध्यक्ष ओलीले शुक्रबार यहाँ अध्यक्षको पदबहाली गर्नेक्रममा सो कुरा बताउनुभयो । न्यायपालिकाको विवादमा देशको समय बर्बाद भइरहेको बताउनुहुँदै अध्यक्ष ओलीले सो समस्या चाँडै समाधान गर्नुपर्ने बताउनुभयो । सत्ता गठबन्धन दल तथा सरकार गम्भीर हुनुपर्ने उहाँले सुझाउनुभयो ।
अर्को प्रसङ्गमा बोल्नुहुँदै अध्यक्ष ओलीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आव्हान गरिएको २८ गतेको संघीय संसदको बैठकको एजेण्डाबारे आफूहरुलाई अझै जानकारी नगराइएको बताउनुभयो । बैठकमा गएपछि त्यसबारे जानकारी हुने उहाँले बताउनुभयो ।
महंगी बढेको, कोभिडको नयाँ भेरियन्ट देखापरेको त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । संसदको कामलाई प्रभावकारी बनाइनुपर्ने, कार्यपालिकालाई चुस्त ढंगले अघि बढाउने र न्यायपालिकामा देखिएको विवाद समाधानमा सरकार लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो । धेरै समस्याको समाधान ताजा जनादेश भएको पनि उहाँले बताउनुभयो ।
जनताले सबै गतविधिको मूल्याङ्कन गरेकाले आगामी निर्वाचनबाटै समस्याको समाधान निस्किने अध्यक्ष ओलीले बताउनुभयो । पार्टीको जिल्ला अधिवेशन, प्रादेशिक अधिवेशन पनि छिटै सम्पन्न गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । “अव देशलाई ठीक बाटोमा अघि बढाउन ढिलो गर्नु हुँदैन” अध्यक्ष ओलीले भन्नुभयो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवहरुसहित पदाधिकारीहरुले पनि शुक्रबार नै पदबहाली गर्नुभएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।