गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २२ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय पदाधिकारी तथा सदस्यमा उम्मेदवार घोषणा गर्ने क्रम सुरु भएको छ । केन्द्रीय सभापतिदेखि लिएर केन्द्रीय सदस्यका आकाङ्क्षी नेताले आआफ्ना उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारका कामलाई तीव्रता पार्न थालेका छन् । कतिपय उम्मेदवारले पर्चा, पोस्टरसमेत छाप्न थालेको बताएका छन् ।
सहमहामन्त्रीमा कर्णको दाबी
संविधान सभा सदस्य रञ्जीत कर्णले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष कर्णले मधेसीतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले काँग्रेसको रूपान्तरणका लागि दोस्रो पुस्ताका नेताहरू पदाधिकारीमा निर्वाचित हुन आवश्यक रहेको बताउनुभयो । कर्णले भन्नुभयो, “काँग्रेसमा विचार निर्माण र साङ्गठानिक संरचना अझै सशक्त बनाउनुपर्छ । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निकट भविष्यमा हुँदैछ । यी दुवै विषयलाई दृष्टिगत गरेर मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिएको हुँ । ”
सदस्यमा पनि उम्मेदवारी घोषणा
नेपाली काँग्रेसका नेता नवराज गुरुङले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सोलुखुम्बु जिल्लाबाट तीन पटक काँग्रेस पार्टी सभापति भइसक्नुभएका काँग्रेस नेता आङगोलु शेर्पाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले उम्मेदवारी घोषणा गर्दै तल्ला स्तरबाट उठेको आमजनताको पीडा, दुःख बुझेका कम्तीमा ५० प्रतिशत व्यक्ति केन्द्रीय नेतृत्वमा पुग्न सके मात्र पार्टी अझ सशक्त र बलियो हुने भएकाले आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
मङ्गलबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आदिवासी÷जनजातिका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले युवालाई पार्टीको केन्द्रीय नेतृत्वमा ल्याएर पार्टीका सबै क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले आफू डोटी जिल्लाको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित भएको भन्दै नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा रहेर प्राप्त अनुभवलाई मातृ पार्टी सञ्चालनमा काम लगाउने बताउनुभयो । त्यसैगरी राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता पन्थले अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिको भोगाइ, अनुभव र सिकाइलाई अपाङ्गता अधिकार प्राप्तिको अभियानमा जोड्ने र राज्यको नीतिमा समेत समावेश गर्ने कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा विगत २५ वर्षदेखि निरन्तर लड्दै आइरहेको छु । यो विषयलाई संस्थागत गर्नकै लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको हुँ । ” त्यसैगरी पार्टीका केन्द्रीय सदस्य जीवन परियारले आसन्न महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता
परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।