गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्रता दिएको छ ।
विभागका महानिर्देशक तीर्थराज भट्टराईले देशभरिका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई तीव्र पारिएको जानकारी दिनुभयो ।
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरको विद्युतीय राहदानी जारी गरेसँगै राष्ट्रिय परिचयपत्रको आवश्यकता बढेको छ । विद्युतीय राहदानी निर्माणका लागि राष्ट्रिय परिचयपत्रको नम्बरलाई मान्यता दिइने प्रतिबद्धता सरकारले गरेको थियो । उहाँले व्यक्तिगत विवरणको सुरक्षाका दृष्टिकोणले पनि राष्ट्रिय परिचयपत्रको महìव रहेको बताउँदै भन्नुभयो, “विद्युतीय राहदानीमा अनिवार्य परिचयपत्र नम्बर चाहिने भएसँगै यतिबेला आवश्यकताका आधारमा राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो । ”
विभागका अनुसार प्रत्येक जिल्लामा जनसङ्ख्याको चापका आधारमा एकदेखि चारवटासम्म परिचयपत्र डेस्क स्थापना गर्ने व्यवस्था गरिएको छ । राहदानी विभाग परिसरमा राष्ट्रिय परिचयपत्र वितरण कार्य जारी राखिएको छ । यसबाहेक औपचारिक सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गर्न सकिनेछ । त्यस्तै ललितपुरमा पनि एउटा डेस्कमार्फत वितरण थालिएको छ । बाहिरका जिल्लाका नागरिकका लागि अर्को एक छुट्टै डेस्क स्थापना गर्ने योजना रहेको विभागले जनाएको छ । भक्तपुर र काठमाडौँमा थप डेस्क स्थापना गरिने भएको छ ।
विभागका महानिर्देशक भट्टराईले हालसम्म ४७ लाख जनाको वैयक्तिक विवरण सङ्कलन गरिएको जानकारी दिनुभयो । तीमध्ये ४२ लाख जनाको विवरण सत्यापन गरिएको छ । यस वर्ष एक करोड नागरिकको व्यक्तिगत विवरण सत्यापन गरिने लक्ष्य विभागले लिएको छ । साथै ३० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्रमा नागरिकताको विवरणका साथै हरेक व्यक्तिको अनुहार, १० वटा औँलाको औँठा छाप, दुवै आँखाको रेटिना तथा विद्युतीय हस्ताक्षर अद्यावधि गरिनेछ । १० अङ्कको सुरक्षा कोड नम्बर परिचय पत्रमा उल्लेख हुनेछ ।
परराष्ट्र मन्त्रालयले विद्युतीय राहदानी वितरणलाई सहज बनाउन राष्ट्रिय परिचयपत्र सकेसम्म छिटो हरेक नागरिकको हातमा पु-याउन अनुरोध गरेको छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले देशव्यापी अभियानलाई तीव्रता दिएर परिचयपत्र वितरण गर्नुपर्ने सुझाव दिनुभयो ।