logo
२०८१ मंसिर १२ बुधवार



उपत्यकामा सुरक्षा व्यवस्था कडा

राष्ट्रिय |


उपत्यकामा सुरक्षा व्यवस्था कडा


काठमाडौं, मङ्सिर २४ गते । नेपाली काँग्रेसको महाधिवेशनलाई केन्द्रित गरी काठमाडौंमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । महाधिवेशन उद्घाटन समारोह स्थल भृकुटीमण्डप क्षेत्रलाई घेरा बनाएर गरिएको कडा सुरक्षा व्यवस्थासहित उपत्यकाभर पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो ।

उहाँका अनुसार काँग्रेस महाधिवेशनलाई केन्द्रित गरी उपत्यकाको तीनवटै जिल्लामा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, ‘कडा सुरक्षा व्यवस्थासहित उपत्यकाभर पाँच हजार प्रहरी परिचालन गरिएको छ, प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको छ, पैदल र मोबाइल गस्तीलाई पनि नियमित गरिएको छ ।’ महाधिवेशनलाई मात्रै केन्द्रीत गरी पाँच हजार बढी प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो ।

त्यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी क्यामेराको पनि निगरानी बढाएको राठौरले जानकारी दिनुभयो । यस्तै, आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको जनाएको छ । ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासका अनुसार अघिल्ला दिनहरुको तुलनामा उपत्यका भित्रिने सवारी साधनहरुको सङ्ख्या बढेको छ ।

चक्रपथ तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाका, प्रतिनिधिहरु बसेको क्षेत्र, भीभीआईपी र भीआईपी रुटहरुमा निगरानी बढाइएको छ । उहाँले भन्नुभयो,‘रुट व्यवस्थापनका लागि मात्रै तीन सय ५० भन्दाबढी ट्राफिक प्रहरी परिचालित छन् ।’ कार्यक्रमस्थलमा ट्राफिक जाम हुन नदिन पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट डाइभर्सन गरिएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलंकी, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको ट्राफिक महाशाखाले जनाएको छ ।

मानिसहरुको उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुट डाइभर्सन हुनसक्ने भन्दै महाधिवेशन प्रतिनिधिका खुलामञ्चमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ ।

झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका गाडी भृकुटीमण्डपको सभाहल पछाडि तथा अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा पार्किङको व्यवस्था मिलाइएको छ । अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन हुने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?