गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । निर्वाचन आयोगले अब आउने स्थानीय तहको चुनाव मुलुकभर एकै चरणमा सम्पन्न गर्ने भएको छ । वि.सं. २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गोरखापत्रसँग सङ्क्षिप्त कुरा गर्दै शुक्रबार भन्नुभयो– “एकभन्दा बढी चरणमा चुनाव गर्दा खर्च, निष्पक्षता र व्यवस्थापनको हिसाबले झन्झटिलो हुने भएकाले एकै पटक गर्ने तयारी गरेका हौँ ।” यसपटक भने चुनावका लागि सुरक्षाको हिसाबले कुनै समस्या नभएको उहाँले बताउनुभयो ।
एकै प्रकृतिको चुनाव पटक पटक गर्दा लामो समयसम्म आचारसंहिता लगाउनुपर्ने र जनतामा पनि नराम्रो सन्देश जानसक्ने पनि थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिखेर सबैको ध्यान राजनीतिमा मात्रै केन्द्रित छ । चुनावका लागि कुनै समस्या छैन । तसर्थ मुलुकभर एकै चरणमा चुनाव गर्न सकिन्छ भन्ने आयोगलाई विश्वास छ ।” प्रदेश सभा सदस्य र प्रतिनिधि सभाको निर्वाचनको अवधि बाँकी नै छ ।