logo
२०८१ मंसिर ९ आईतवार



बागमती प्रदेशको मन्त्रिमण्डल विस्तार

राष्ट्रिय |
प्रदेश |


बागमती प्रदेशको मन्त्रिमण्डल विस्तार


राममणि दाहाल

हेटौँडा, मङ्सिर २९ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मङ्गलबार पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
विस्तारित मन्त्रिपरिषद्मा घनश्याम दाहाल, विशाल खड्का, रत्नप्रसाद ढकाल, वसन्तप्रसाद मानन्धर, बसुन्धरा हुमागाईं मन्त्री र इन्द्रमाया गुरुङ राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । राज्यमन्त्री गुरुङले प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेबाट राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा मन्त्रिपरिषद् विस्तार, पुनर्गठन एवं कार्य विभाजनसमेत गरिएको छ । विस्तारित मन्त्रिपरिषद्मा दाहालले श्रम, रोजगार तथा यातायात, मानन्धरले खानेपानी, ऊर्जा तथा सिँचाइ, हुमागाईंले कृषि तथा पशुपन्छी, खड्काले वन तथा वातावरण र ढकालले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यस्तै गुरुङलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा राज्यमन्त्री पदमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले मङ्गलबार साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । दोस्रो पटक विस्तारित मन्त्रिमण्डलमा पर्नुभएका मन्त्रीहरू दाहाल, खड्का र ढकाल नेकपा (माओवादी केन्द्र) का, मानन्धर, हुमागाईं र राज्यमन्त्री गुरुङ नेकपा (एकीकृत समाजवादी) का हुनुहुन्छ । मन्त्रिमण्डलमा यसअघि नै माओवादी केन्द्रका शालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री, कृष्णलाल भडेल भौतिक पूर्वाधार विकास मन्त्री, कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा योजना मन्त्री, कुमारी मुक्तान सामाजिक विकास मन्त्री र निमा लामा स्वास्थ्य मन्त्री हुनुहुन्छ ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यसअघि गठबन्धनका दलहरूको विवादका कारण गत बिहीबार गठबन्धनमा रहेको नेपाली काँग्रेसका तर्फबाट राज्यमन्त्रीमा नियुक्त गर्ने भनिए पनि रोकिएको थियो ।

काँग्रेस संसदीय दलले प्रदेश सभाका सदस्य सन्तबहादुर प्रजालाई राज्यमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीलाई पत्राचार गरे पनि दलहरूबीच भागबण्डा नमिल्दा प्रजाको नियुक्त हुन सकेको थिएन । योसँगै एक राज्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
प्रदेशमा आठवटा मन्त्रालय रहेकोमा गठबन्धनका दलहरूबीच भागबण्डा मिलाउन भन्दै मन्त्रालय फुटाएर १४ वटा पु¥याइएको छ । काँग्रेसको भागमा परेको एक राज्यमन्त्री र तीन मन्त्री अझै नियुक्त हुन बाँकी छन् । कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले पहिलो चरणमा चार सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । कात्तिक २५ गते मन्त्रिपरिषद्मा गठबन्धनका माओवादी केन्द्र र काँग्रेसका गरी दुई मन्त्री थप गरी छ सदस्यीय मन्त्रिमण्डल पु¥याउनुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?