काठमाडौं, पुस १ गते । नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो ।
महामन्त्रीमा प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिलेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार हुनुहुन्छ । निर्वाचनबाट दुई जना महामन्त्री निर्वाचित हुनुहुनेछ ।
काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापति पदमा शेरबहादुर देउवा, उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।