logo
२०८१ बैशाख १५ शनिवार



माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनः कस्तो छ तयारी ?

१५ सय प्रतिनिधिले खाने र बस्ने प्रबन्ध आफै गर्नुपर्ने

मुख्य समाचार |
राजनीति |


माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनः कस्तो छ तयारी ?
फाइल तस्बिर


काठमाडौं, पुस ३ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनमा १५ सय बढी प्रतिनिधि सहभागी हुँदैछन् । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार दश प्रदेशमध्ये एक प्रदेशबाट ३०/३० जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा सात प्रदेश र तीन विशेष गरेर जम्मा १० प्रदेशका प्रतिनिधि सहभागी हुँदैछन् ।

यसैगरी, १५ सय पार्टी सदस्य बराबर एक प्रतिनिधि सहभागी हुनुहुनेछन् । ‘१ सय २५ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च छ । सल्लाहकार समितिमा १ सय ४९ र ७५ सदस्यीय तीन वटा आयोग छन्’, मुख्य सचिव ढकालले भन्नुभयो, ‘३४ वटा विभागमध्ये एउटा विभागबाट तीन जना गरेर जम्मा १०२ जना प्रतिनधि सहभागी हुनुहुन्छ ।’ पार्टीको आयोजक समितिसमेत गरेर १५ सय प्रतिनिधि सहभागी हुने उहाँको भनाइ छ ।

‘पुस ८ गतेसम्ममा तयारी पूरा हुन्छ’

पुस ८ गतेसम्ममा तयारी पूरा गर्ने केन्द्रीय निर्वाचन समिति संयोजक विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । पुस ९ गते मतदाताको नामावली संकलन गर्ने र पुस १० गते प्रकाशन हुने श्रेष्ठले बताउनुभयो । ‘निर्वाचन तयारीको सन्दर्भमा अहिले मतपत्र डिजाइनको काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कति–कति जना उम्मेदवार भन्ने हिसाब र तथ्यांक निकाल्ने काम भइराखेको छ ।’

प्रतिनिधि चयनको काम भने सम्पन्न भइसकेको उहाँले बताउनुभयो । यसबाहेक सम्मेलनमा केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ । महिला, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु, दलितलगायत विभिन्न उमेर समूहलाई पनि मिलाउने विषयमा छलफल भइराखेको श्रेष्ठको भनाइ छ ।

सम्मेलनमा सहभागी प्रतिनिधिको व्यवस्थापन सम्बन्धित प्रदेशले नै गर्नेछ। ‘प्रत्येक प्रदेश स्वयम्ले व्यवस्थापन गर्नुपर्नेछ । प्रतिनिधि खाना खाएर बिहान ११ बजे सम्मेलनस्थल आउनुहुनेछ’, श्रेष्ठले भन्नुभयो, ‘दिउँसो खाजाको व्यवस्था भए पनि बसोबासको व्यवस्था आफैं गर्नुपर्नेछ ।’

प्रज्ञाको मुख्य भवनमा करिब साढे १३ सयको क्षमता छ । थप कुर्सी राखेर व्यवस्थापन गरिने श्रेष्ठले बताउनुभयो । मुख्य भवन र परिसरको साइड–साइडमा कुर्सी राखेर व्यवस्थापन गरिने उहाँको भनाइ छ । सम्मेलनबाट २९९ जनाको कार्यसमिति चयन हुनेछ । यसमा आवश्यकता अनुसार केही थपघट हुनसक्ने उहाँको भनाइ छ ।

सम्मेलनले नेतृत्व चयन गर्छ
पार्टी विधान अनुसार सर्वसम्मत वा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने उहाँको भनाइ छ । ‘नेतृत्व चयनमा सर्वसम्मत हुनसक्छ । सर्वसम्मत ढंगले नेतृत्व चयन हुन नसके विधानमा भएको व्यवस्था अनुसार चुनाव पनि हुनसक्छ’, उहाँले भन्नुभयो । महाधिवेशनबाट सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नयाँ नेतृत्व चयन गरिसकेका छन् । एक साथ तीन तहको चुनावको तयारी भइराखेकाले आम नागरिकले पार्टी नेतृत्वलाई नजिकबाट नियालिरहेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?