केदार तिमल्सिना
बनेपा, पुस ४ गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारको आधिकारिक निर्णयपछि मात्र एमसीसीबारे एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटी, महिला विभागद्वारा काभ्रेको बनेपामा आज आयोजित प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
एमसीसीबारेमा एमालेको धारणा के हो ? भन्ने पत्रकारको जिज्ञासामा बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “एमाले प्रमुख प्रतिपक्षी दल हो, पहिले सरकारले के निर्णय गर्छ हामी हेर्छौं, त्यस आधारमा एमालेको आफ्नो धारणा आउँछ ।”
सरकारले स्वेतपत्र तथा नीति कार्यक्रम प्रस्तुत गर्दा एमसीसी बारेका केही नबोलेकाले सरकारको धारणाको प्रतिक्षामा एमाले रहेको उहाँले प्रष्ट पार्नुभयो । सभामुखले निष्पक्ष भूमिका खेल्नुपर्ने पनि उहाँले बताउनुभयो ।
अनेरास्ववियु महिला विभागको आयोजनामा शुक्रबारदेखि सञ्चालन भएको नेतृत्व विकास तथा शसक्तीकरण प्रशिक्षण कार्यक्रममा सातवटै प्रदेशका एक सयभन्दा बढी महिलाको सहभागिता रहेको छ ।
प्रशिक्षणको समापन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पोखरेलले दशौँ महाधिवेशनबाट एमालेले सामाजिक र परोपकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई गोलबद्ध गर्दै सामाजिक र परोपकारी सङ्गठन निर्माण गर्ने निर्णय गरेको बताउनुभयो ।