logo
२०८१ मंसिर ७ शुक्रवार



नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना

राष्ट्रिय |
पर्यटन |


नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना
नेपाल पर्यटन बोर्डको कार्यालय उद्घाटनको क्रममा बोल्नुहँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले 



अविनाश चौधरी
धनगढी, पुस ५ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय स्थापना भएको छ ।
नेपाल पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि यो प्रदेशमा नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय स्थापना गरिएको हो । उक्त कार्यालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुुर आलेले सोमबार विहान उद्घाटन गर्नुभयो ।

त्यसक्रममा उहाँले कहिल्यै बन्द नहुने गरी पर्यटन बोर्डको प्रदेश कार्यालय स्थापना भएको बताउनुभयो । उहाँले आवश्यक कर्मचारी खटाउने र बोर्डका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्ने कार्य आफ्नो मन्त्रालयले गर्ने बताउनुभयो । ‘बोर्डका लागि एक जना प्रबन्धक र अधिकृतस्तरको कर्मचारी तत्काल र आवश्यकतानुसार थप कर्मचारी पनि पठाउँछौं’, मन्त्री आलेले भन्नुभयो । ‘हाम्रो मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्नेछ । कहिल्यै बन्द नहुने गरी हामी यसलाई अगाडि बढाउँछौं ।’

यसैगरी, बोर्डको कार्यालयमा पर्यटकीय स्थलको तस्बिर र पर्यटकलाई दिन सकिने आवश्यक सूचना राख्न मन्त्रीले पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ । मन्त्री आलेले धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि एक हप्ताभित्रै एक अर्ब रुपियाँ बजेटको व्यवस्था गर्ने जनाउनुभयो । ‘हामी यहाँबाट काठमाण्डौंमात्रै हैन, अमेरिका जान चाहन्छौं’, उहाँले भन्नुभयो । ‘यसको रनवे २५०० मिटर भयो भने यो अन्तर्राष्ट्रिय विमानस्थल बन्छ ।’

विमानस्थल स्तरोन्नतिको कुरासँगै धनगढी विमानस्थल वरपर भू–माफियाहरु सल्बलाउन थालेको भन्दै मन्त्री आलेले त्यहाँका स्थानीयलाई सतर्क रहन पनि आग्रह गर्नुभएको छ ।

यसैगरी, भारतको दिल्लीका पर्यटकलाई बझाङ्को उरै, ताक्लाकोटसम्म पु¥याउनका लागि राजमार्ग निर्माणको कार्य अगाडि बढिरहेको मन्त्री आलेले बताउनुभयो । तर, तीस महिना निर्माण समयावधि रहेको सडकको ४६ महिनासम्म ट्रयाक खोल्ने कार्य पूरा नभएको उहाँको भनाइ थियो ।
ठेकेदारले सडक निर्माणमा लापरवाही गरिरहेको उल्लेख गर्दै उहाँले ट्रयाकमात्रै खोलिएमा पाँच सय देखि सात सय करोड बजेट राखेर उरै नाकासम्म राजमार्ग पु¥याउन सकिने बताउनुभयो ।

यसैगरी, सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना हुनु यो प्रदेशको पर्यटन विकासका लागि ‘टर्निङ प्याइन्ट’ हुन सक्ने बोर्डका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । ‘यो सुदूरपश्चिम प्रदेशको लागि ऐतिहासिक क्षण हो’, उहाँले भन्नुभयो । ‘यसले यो प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ ।’

नेपाल पर्यटन बोर्डको काठमाडौं र पोखरामा एकसाथ कार्यालय स्थापना भएको उल्लेख गर्दै थपलियाले अन्य ठाउँमा बोर्ड आउन २२ साल लागेको उल्लेख गर्नुभयो । ‘काठमाठौं र पोखराभन्दा बाहिर २२/२२ वर्ष कार्यालय स्थापना नहुनु भनेको पर्यटनमा हामी कहिँ न कहिँ चुक्नु हो’, उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेशमा पर्यटन बोर्डको कार्यालय हुनु पर्ने भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीले पहिल्यैदेखि आवाज उठाउँदै आएका थिए । बोर्डको कार्यालय स्थापना भएपछि सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन र पर्यटन विकासमा टेवा पुग्ने उनीहरुको विश्वास छ । बोर्डले पर्यटकीय गतिविधि सञ्चालन गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसार, सूचना प्रवाहसमेत गर्नेछ ।

पर्यटन व्यवसायी सञ्जय चौधरीले पर्यटन बोर्डको कार्यालयले पर्यटन सूचना केन्द्र राख्ने र त्यसले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्यटन सम्बन्धी पहिले केन्द्रबाट हुने सबै कामहरु अब प्रदेशमै हुने उल्लेख गर्नुभयो । ‘यहाँ बोर्डको कार्यालय खुल्नु हामी सबैका लागि सुखद् कुरा हो’, चौधरीले भन्नुभयो । ‘यसले पर्यटन विकासमा टेवा पुग्नेछ ।’

बोर्डको कार्यालय उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहित पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?