सिराज खान
नेपालगञ्ज, पुस ८ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध गरेर लैजाने पक्षमा रहेको बताउनुभएको छ ।
बिहीबार समाजवादी प्रेस सङ्गठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनुभएको हो । उहाँले प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य साना दललाई मिलाएर गठबन्धन बनाई निर्वाचनमा जाने तयारीमा लागेको बताउनुभयो । निर्वाचनहरुको सिलसिला सुरु भएको र ती चुनावमा प्रतिगामीहरुलाई पराजित गरेर आफूहरुले विजय प्राप्त गर्नका लागि गठबन्धन आवश्यक भएको अध्यक्ष नेपालले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले एमसीसीको बारेमा गठबन्धनभित्र र बाहिरका दलहरुसँग घनीभूत छलफल भइरहेको जनाउँदै कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निर्णयमा पुग्ने बताउनुभयो । उहाँले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने जनाउँदै तर आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताउनुभयो ।
संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उहाँले प्रतिगामीलाई सफल हुन नदिने दावी गर्नुभयो । एकीकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुँदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्ने कार्य तीव्रगतिमा भैरहेको उहाँको भनाइ थियो । नेता नेपालले देशको हित र रक्षाका लागि एकीकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा रोजगारीका साथै जनताको हितका विषयमा पार्टी गम्भीर रहेको बताउनुभयो ।