logo
२०८१ मंसिर ११ मंगलवार



किसान समृद्ध भएमात्र देश समृद्ध हुन्छ : मन्त्री यादव

राष्ट्रिय |
प्रदेश |


किसान समृद्ध भएमात्र देश समृद्ध हुन्छ : मन्त्री यादव



लक्ष्मी चौधरी
जनकपुरधाम, पुस ९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले कृषिप्रधान देशमा अझै पनि निर्वाहमुखि खेती हुनु दुःखद भएको बताउनुभएको छ । प्रदेश २ को अस्थायी राजनधानी जनकपुरधाममा बिहीबार आयोजित ‘उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्दछ तराईको माटो’ भन्ने नाराकासाथ साना किसान राष्ट्रिय सम्मेलन समारोहको उदघाटन गर्दै संघीय कृषि तथा पशुपन्छी मन्त्री यादवले सो कुरा बताउनुभयो ।

अहिले पनि निर्वाहमुखी खेती भइरहेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन सांगठनिक रुपमा किसान अगाडि बढ्नुपर्छ ।’ देशको भविष्य किसानको हातमा रहेको बताउँदै देशलाई समृद्ध बनाउने नारा पनि किसानकै हातमा हुनुपर्छ उहाँले भन्नुभयो । किसान समृद्ध भए मात्र देश समृद्ध हुने उहाँले धारणा राख्नुभयो ।

संघीय मन्त्री यादवले यहाँका किसान धेरै मार्कामा परेकोप्रति दुःख व्यक्त गर्नुहुँदै अन्य देशको तुलनामा हाम्रो देशको कृषि प्रणाली फरक रहेको बताउनुभयो । विदेशमा कसरी कृषिमा आत्मनिर्भर भएका छन् त्यो कुरालाई हामीले विचार गर्नुपर्ने उहाँले बताउनुभयो । किसानलाई आधुनिक खेतीतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उहाँले बताउनुभयो । नेपालमा अझै पनि परम्परागत खेती अन्तर्गत जमिन खण्डिकरण गरी खेती गर्ने चलन रहिआएको छ तर, कृषिमा आत्मनिर्भर हुनलाई सांगठनिक खेती गर्न किसानलाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्री यादवले किसानको हकहितका लागि कामगर्ने किसान महासंघ गठन गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । कुनै पार्टीको भातृ संगठन नभई देशभरीका किसानले महासंघ स्थापना गरी आफ्नो समस्याहरु संघमार्फत ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले किसानको समस्या समाधान हुने दावी समेत गर्नुभयो ।

किसानका समस्याहरु औल्याउँदै समाधानको बाटोतिर लाग्न आग्रह गर्दै राष्ट्रिय कृषक महासंघले उठाएका मुद्दालाई गम्भिरताकासाथ थालनी गर्न आग्रह गर्नुभयो । नेपालभरका ८० जना बिएससी उतीर्ण छात्रछात्रालाई कृषि समस्या समाधानका लागि सरकारले छिटै नियुक्ति गर्ने समेत जानकारी दिनुभयो । किसानका समस्या समाधान गर्न आफू सदैव तत्पर रहने मन्त्री यादवले प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपालको संयुक्त आयेजनामा भएको कार्यक्रमलाई रा.कृ.स.महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतको सभापतित्वमा घोषणपत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?