logo
२०८१ मंसिर १२ बुधवार



सिराहा प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी

राष्ट्रिय |


सिराहा प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी



सन्तोष सुवेदी
सिराहा, पुस १३ गते । जनमत पार्टीले आइतबारदेखि सिराहामा गरेको चक्काजाम र आन्दोलन लम्बिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले मङ्गलबार र बुधबार गरी दुई दिनका लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार अबेर राति सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै पूर्वपश्चिम लोकमार्ग र सिराहा–चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबायाँ लागु हुने गरी पुस १३ र १४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको लागि निषेधित क्षेत्रमा हिँड्डुल, पाँच जनाभन्दा बढी भेला हुन नपाउने, कुनै किसिमको भेला, सभा तथा जुलुस गर्न नपाउने आदेश जारी गरेको छ ।

निषेधाज्ञामा पूर्वमा बलान खोला र पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिराहा सडक खण्डको पि.के.राज इन्टरप्राइजेज (पेट्रोल पम्प) सम्म तथा उक्त दुवै लोकमार्ग र सहायक लोकमार्गदेखि वरपरको पाँच सय मिटर आसपासका क्षेत्रलाई निषेधाज्ञाको क्षेत्र तोकिएको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निजी सचिवालयद्वारा जारी सूचनामा सबै क्षेत्रमा यातायात भने सुचारु रहने तथा आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको वीऊ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले उक्त कार्यमा संलग्न केही किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले गत आइतबारदेखि आन्दोलनको घोषणा गरेको थियो । जनमत पार्टीले पक्राउ परेका किसानलाई विनासर्त रिहाइको माग गर्नुका साथै किसानहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?