logo
२०८१ मंसिर १२ बुधवार

   ललिता निवास जग्गा प्रकरण   



थप अनुसन्धान सुरु

राष्ट्रिय |


थप अनुसन्धान सुरु


मित्र भण्डारी

काठमाडौँ, पुस १४ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा जोडिएका आरोपित व्यक्तिहरूसँग बयान लिँदै सत्यता जाँच्न पनि सुरु गरेको छ । ब्युरोले आरोपितत्रय रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी तथा शोभाकान्त ढकालमाथि बयान सँगसँगै सत्यता जाँच्न पनि सुरु गरेको हो ।

पक्राउ परेका आरोपितको बयान सही वा झुटो हो भन्ने पत्ता लगाउन बयानलाई पछ्याउँदै सत्यता जाँच गरिरहेको ब्युरोले जनाएको छ । सरकारी जग्गा किर्ते गरी हिनामिनाका मुख्य अभियुक्त सुवेदी दम्पती पुस ७ गते काठमाडौँको ताहाचल र कमलादीबाट पक्राउ परेका थिए ।

सुवेदी दम्पतीको बयानपछि अर्का मुख्य योजनाकार भनिएका ढकाललाई ब्युरोले डिल्लीबजार कारागारबाट झिकाएर बयान लिन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशले ढकाल पुर्पक्षका लागि डिल्लीबार कारागारमा थुनामा छन् । ढकालकी पत्नी उमा ढकालमाथि पनि अनुसन्धान सुरु गर्ने योजना बनाए पनि उनी सम्पर्कविहीन छिन् ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पटक कागजात किर्ते भएको खुलेपछि ब्युरोले सरकारी कागज किर्तेअन्तर्गत अनुसन्धान गरिरहेको छ । ब्युरोले २०४९, ०६२, ०६६ र ०६९ सालमा चार पटक बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा किर्ते गरेर व्यक्तिको नाममा दर्ता गराएको खुलेको छ ।

सीआईबीका उपनिर्देशक तथा प्रवक्ता श्यामकुमार महतोले फरक फरक समयमा भएका किर्तेको अनुसन्धान पनि छुट्टाछुट्टै रूपमा भइरहेको जानकारी दिनुभयो । ढकाल र सुवेदीसमेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा गरी १४६ रोपनी सरकारी जग्गा आफूूलगायत अन्य व्यक्तिको नाममा दर्ता गराएको अनुसन्धानबाट खुलेको छ । डिल्लीबजार मालपोत कार्यालयका लेखापढी व्यवसायी सुवेदी र जग्गा व्यापारी ढकालले नक्कली मोही खडा गरी सरकारी जग्गा हिनामिना गरेको खुलेको हो ।

ललिता निवासको २९९ रोपनी जग्गामध्ये १४६ रोपनी जग्गा हिनामिना भएको पाइएको छ । सुवेदी दम्पती तथा चार छोरी र दुई छोरा गरी सात जनाको नाममा रहेको २३ रोपनी जग्गा विभिन्न बैङ्कमा धितो राखी एक अर्ब २७ करोड रुपियाँ ऋणबारे सम्बन्धित बैङ्कसँग बुझ्ने काम पनि हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?