विजयकुमार साह
ढल्केवर, पुस १४ गते । नेपालस्थित इजरायली राजदूत हनन गोर्डर गोल्डबर्गरले नेपाल र इजरायलबीच सुदृढ द्विपक्षीय सम्बन्धको एउटा उदाहरण भएको बताउनुभएको छ । मङ्गबार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई उहाँले नेपाल–इजरायलबीचको सम्बन्ध आपसी हित र सहकार्यका विषय केन्द्रित रहेको भन्नुभयो ।
राजदूत हननले जानकी मेडिकल कलेज र इजरायलका विश्वविद्यालयका विद्यार्थीबीच कृषि, स्वास्थ्य, प्रविधि र सङ्कायसम्बन्धी ज्ञान आदानप्रदान गर्ने वातावारण मिलाएको जानकारी दिनुभयो । उहाँले नेपालका विद्यार्थीलाई इजरायल लैजान र इजरायलका विद्यार्थीलाई यहाँ ल्याउन वातावरण मिलाएको बताउनुभयो ।
कार्यक्रममा राजदूत गोल्डबर्गरले कृषि, स्वास्थ्य क्षेत्र र फोहोर व्यवस्थापन जस्ता आवश्यक विषयहरूमा ल्याउन सकिने नयाँ प्रयोगको बारेमा चर्चा गर्नुभयो । त्यस अवसरमा उहाँले जानकी मेडिकल कलेजका निर्देशक डाक्टर रामप्रसाद उप्रेतीले लेख्नुभएको प्राथमिक उपचारसम्बन्धी किताबको विमोचन पनि गर्नुभयो ।
राजदूत हाननको नाउँमा बन्दै गरेको अस्पताल भवनको अनावरण
अभिमुखीकरण कार्यक्रमपछि राजदूत हननले आफ्नै नाउँमा निर्माण भइरहेको अस्पताल भवनको अनावरण गर्नुभयो । मेडिकल कलेज व्यवस्थापन समूहले राजदूत हननको नाउँमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिरहेको छ । निर्माण हुने क्रममा रहेको सो अस्पताल भवन राजदूत हननलाई समर्पण गरिएकोले भवन उहाँको नाउँमा रहने निर्देशक उप्रेतीले जानकारी दिनुभयो ।
भवनको अनावरण गर्नुहुँदै राजदूत हाननले आफूलाई गरेको सम्मानप्रति कलेज व्यवस्थापन पक्षलाई आभार प्रकट गर्नुभयो । कलेजका सञ्चालक, प्रधानाध्यापक, प्राध्यापक तथा विद्यार्थीको खुलेर प्रशंसा गर्दै उहाँले अगामी दिनमा कलेज तथा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
भवन अनावरणपश्चात सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै राजदून हननले ‘यो मन त मेरो नेपाली हो’ भन्दै नेपाल र नेपालीको प्रशंसा गर्नुभयो । ठूलो सम्भावना भएको देश नेपाल आफूलाई निकै मनपरेको उहाँको भनाइ थियो ।
राजदूत हननले नेपाल सरकारले शिक्षा, स्वास्थ्य, कृषिजस्ता विषयलाई प्राथमिकतामा राखेर विकास निर्माणका काममा अधि बढनुपर्नेमा जोड दिनुभयो ।
जानकी मेडिकल कलेजका निर्देशक उप्रेतीले कलेजस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आएका यस कलेजले आउँदा दिनमा दक्ष डाक्टर उत्पादन गर्ने र नेपालकै सुविधा सम्पन्न अस्पताल बनाउने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका चुनौती समाप्त गर्ने उद्देश्यका साथ शिक्षा प्रदान गर्दै आएको दाबी गर्नुभयो ।
निर्देशक उप्रेतीले कलेज तथा शिक्षण अस्पतालमा इजरायलबाट स्वास्थ्य प्रविधि तथा उपकरण ल्याएर मेडिकल क्षेत्रमा छुट्टै पहिचान बनाउने बताउनुभयो ।
कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलगायत कलेजका विद्यार्थीको उपस्थिति थियो ।