जनार्जन खत्री
सर्लाही, पुस १४ गते । सर्लाहीको ईश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने सहमति भएको छ ।
बुधबार लालबन्दीस्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट पीडितको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्नेसहित ६ बुँदे सहमति भएको हो ।
छलफलमा घटनाको सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमारको आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षाका लागि स्थानीय तह, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स लगायतका सङ्घ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका आम नागरिक तथा व्यक्तिको सम्पत्तिमा पुग्न गएको क्षतिको विवरण सङ्कलन गरेर क्षतिपूर्ति दिने सहमति भएको छ ।
घटनापछि घोषणा भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमतिसमेत भएको छ । परिवारले मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने सहमतिसमेत भएको छ । मृतक रामकुमारको शव गएको आइतवार राति देखिनै जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ ।
बुधबारको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।
पीडित परिवारसँग सहमति भएपछि निषेधाज्ञा बुधबार साँझ ७ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।
आइतबार राति ईश्वरपुर नगरपालिका–७ स्थित ईश्वरपुर नगरपालिकाको कार्यालय नजिकै प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुवनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । त्यसपछि भएको प्रदर्शनमा झडप भएपछि निषेधाज्ञा जारी भएको थियो ।
झडपमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका १८ वर्षीय सञ्जयकुमार महतोसहित केही प्रहरी घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर घाइते सञ्जयको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइराखेको छ ।
झडपमा प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर घाइते प्रहरीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।