logo
२०८१ मंसिर ११ मंगलवार



हुस्सुका कारण देशभर आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

राष्ट्रिय |


हुस्सुका कारण देशभर आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित


काठमाडौं, पुस १६ गते । बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प भएको छ भने बिहान ६ बजेको तालिका अनुसार नै अन्तर्राष्ट्रिय उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

हुस्सुका कारण जहाज उडान र अवतरणका लागि भिजिबिलिटी अपुग हुँदा बिहान १० बजेसम्म उडान हुन नसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । मङ्गलबारदेखि मौसम बदलीका कारण चिसो बढेसँगै हवाई उडान पनि प्रभावित हुँदै आएको छ । शुक्रबार १३९ अराइभल र १३९ डिपार्चर गरी २७८ वटा नियमित आन्तरिक उडान तालिका छ ।
तीन सय मिटर मात्र भिजिबिलिटी रहेकाले बिहानैदेखि उडान र अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा एक हजार मिटरसम्म भिजिबिलिटी हुनुपर्ने हुन्छ । हाल नेपालमा यती एयरलाइन्स, बुद्ध , श्री, सौर्य, नेपाल एअरलाइन्स, गुण, तारा, समिट र सीता एयरलाइन्सले दैनिक उडान भर्दै आएका छन् । यता ३० विमान कम्पनीले दैनिक ६० वटा भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने गरेको विमानस्थलको तथ्याङ्क छ ।

यता मौसम पुर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले अरब सागरबाट नेपाल प्रवेश गरेको जलवाष्पसहितको वायु रोकिए पनि स्थानीय वायुका कारण चिसो कायमै रहँदा बाक्लो हुस्सु लागेको बताउनुभयो । अझै एक साता स्थानीय वायुको प्रभाव रहने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?