logo
२०८१ मंसिर ११ मंगलवार



हिउँ छिचोल्दै मुक्तिनाथसम्म गाडी सञ्चालन, जोमसोम विमानस्थल तयारी अवस्थामा

राष्ट्रिय |


हिउँ छिचोल्दै मुक्तिनाथसम्म गाडी सञ्चालन, जोमसोम विमानस्थल तयारी अवस्थामा


अमृतप्रसाद पौडेल
बेनी, पुस १६ गते । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथसम्म शुक्रबारबाट सवारी सञ्चालनमा आएको छ । मङ्गलबारदेखि सुरु भएर बिहीबार बिहानसम्म लगातारको हिमपातले अवरुद्ध भएको जोमसोम–मुक्तीनाथ सडक हिउँ पन्छाएर शुक्रबार बिहानदेखि सुरु गरिएको छ ।

मुस्ताङ सदरमुकाम जोमसोममा रहेको जोमसोम विमानस्थल पनि हिउँ पन्छाएर तयारी अवस्थामा राखिएको छ । हवाइ उडान गर्नका लागि चुस्त अवस्थामा विमानस्थललाई राखिएको जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले जानकारी दिनुभयो । विमानस्थलका प्रमुख शर्माका अनुसार जोमसोम विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाउने काम भएकोले अब फ्लाइट भएको खण्डमा ल्याण्ड गर्नलाइ समस्या छैन । चिसोले गर्दा मुस्ताङ उडानका लागि पोखराबाट लोड नपुगेर पछिल्लो १० दिनदेखि फ्लाइट नभएको भए पनि हिउँले तीन दिनसम्म अवरुद्ध विमानस्थल शुक्रबार विहानदेखि भने सुचारु गर्न सकिने अवस्थामा पुगेको प्रमुख शर्माले बताउनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुक्तिनाथसम्मको सडकमा जमेको हिउँ पन्छाएर जोमसोम मुक्तिनाथ सवारी सञ्चालन गर्ने सडक तयार भएको भए पनि सहज भने छैन । चिसोले गर्दा गाडी स्टार्ट नहुने र भइ हाले पनि तत्कालै बन्द हुने जस्ता समस्या गाडीमा देखिने प्रजिअ शर्माले बताउनुभयो ।

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिका तर्फ जानका लागि भने यातायात बन्द रहेको छ । सडकमा हिउँ जमेको र अत्याधिक चिसोको कारणले गर्दा उक्त क्षेत्रमा पुग्न सक्ने अवस्था नरहेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले बताउनुभयो । शर्माले भन्नुभयो अहिले उक्त क्षेत्रमा सञ्चार सम्पर्क छ, कुनै पनि भौतिक एवम् मानविय क्षती छैन तर सिधा सम्पर्कका लागि सडक यातायात अवरुद्ध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?