शालिग्राम नेपाल
चितवन, पुस १६ गते । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले निर्वाचनमा एमाले एक्लै मैदानमा उत्रेपनि आगामी निर्वाचनमा बहुमत सिट ल्याउने दावी गर्नुभएको छ । चितवनको कालिका नगर कमिटीको सपथग्रहण कार्यक्रमलाई शुक्रबार यहाँ सम्वोधन गर्दै एमालेविरुद्ध जती गठबन्धन गरेपनि हराउन नसक्ने बताउनुभयो ।
एमालेविरुद्ध गठवन्धन गरेर बसेका पार्टी निर्वाचनको मिति तोकिएपछि भत्कन सुरु हुने बताउनुभयो । एमाले एक ढिक्का भएर निर्वाचनमा जान्छ तर हामी विरुद्ध गठवन्धन भएका पार्टीमा विभिन्न भागवण्डाले टुक्रन्छ उहाँले भन्नुभयो ।
पार्टीभित्र विभिन्न कालखण्डमा उतारचढाव आएपनि पार्टी एक ढिक्का भएर गएको र आउँदो निर्वाचनमा परिणाम ल्याएर जनताको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेले विगतमा गरेका लोकप्रिय काम छ, देश र जनताको पक्षमा काम गर्न सक्ने भिजन छ, सक्षम नेताहरु छन् ।’
माघ महिनाको सुरुवातमा निर्वाचनको मिति घोषणा हुने भन्दै उहाँले पार्टी कार्यकर्तालाई मतदाता परिचयपत्र बनाउन फोटो खिच्ने काममा लाग्न अनुरोध गर्नुभयो । निर्वाचनको मिति घोषणा भएपछि परिचयपत्र निर्माण कार्य रोकिन्छ सबैले आजैबाट काममा खटिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
देश सञ्चालन गर्न राजनीतिक पार्टीको कमिटी सानो र चुस्त निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । छिमेकी राष्ट्र भारत र चीनमा नेपालमाजस्तो जम्बो कमिटी नभएको भन्दै जति धेरै पद निर्माण गर्यो त्यती असन्तुष्टी बढ्ने उहाँको भनाई छ । चीनको कम्युनिष्ट पार्टीमा ७ सदस्य स्थायी कमिटी रहेको उहाँले बताउनुभयो ।
आउँदो निर्वाचनमा सबै कमिटीका सदस्यहरुले निर्वाचन केन्द्रीत काम गर्न उहाँले निर्देशन दिनुभयो ।
जनताको समस्या सम्वोधन गरेर हिड्ने पार्टी र नेतालाई नै जनताले मन पराउने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले एमालेप्रति जनताको विश्वास वृद्धि हुँदैगएको बताउनुभयो । सरकारमा रहँदा भएका कामको विषय मात्र जनतामा लैजान सकेमा आउँदो निर्वाचनमा एमालेलाई हराउन अन्य कुनै पार्टीले नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा एमाले कन्द्रीय सदस्य जगन्नाथ थपलिया, कानुन न्याय तथा मानवअधिकार समितिका सदस्य कृष्णभक्त पोखरेल, वाग्मती प्रदेश कमिटी सदस्यहरु तेजेन्द्रवहादुर खड्कालगायतले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा केशव लामाको अध्यक्षतामा निर्वाचित ७५ सदस्यीय कालिका नगर कमिटीलाई सपथ खुवाइएको थियो ।