गोरखापत्र अनलाइन
काठमाडौं, पुस १७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा शनिबार पार्टीको तर्फबाट शुभकामना सन्देश जारी गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभएको छ, “नयाँ वर्ष सन् २०२२ को अवसरमा स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।”
ग्रेगोरियन क्यालेण्डर अर्थात् इस्वीसम्बत् पात्रोअनुसार प्रत्येक वर्ष जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरिएको उहाँले चर्चा गर्नुभएको छ । “बैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भएपनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वीसम्बत्लाई हामी अन्तर्राष्ट्रिय नयाँ वर्षका रुपमा मनाउँछौं” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।
एमाले नेतृत्वको सरकारले नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्यअनुरुप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतामा पुगाएको दावी गर्नुभएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर जनतामाझ एमाले गएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका आवश्यकता र अधिकार परिपूर्तिमा आफूहरु लागेको बताउनुभएको छ ।
समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्यमा एमाले अघि बढिरहेको बताउनुहुँदै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य भएको बताउनुभएको छ ।