logo
२०८१ मंसिर ११ मंगलवार



एमालेको जनवर्गीय संगठन सक्रिय बनाउनुपर्छ : प्रमुख गुरुङ

राष्ट्रिय |


एमालेको जनवर्गीय संगठन सक्रिय बनाउनुपर्छ : प्रमुख गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको संगठन बासमति चामल विकाउन नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । पार्टीलाई जिवन्त बनाउन जनवर्गीय संगठन पिठो बनाउनेखालको बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

प्रेस चौतारी नेपाल काठमाडौं शाखाको पाँचौं जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रमुख गुरुङ्ले भन्नुभयो, “एमाले अहिले मुलुकको सबैभन्दा ठूलो पार्टी हो, तर यसभित्र संगठनमा अराजकता छ, बासमति चामल विक्री गर्न नसक्ने अवस्थामा पुगेको छ, पिठो विकाउन सक्नेगरी सक्रिय बनाउनुपर्छ ।”

एमालेको नीति र सिद्धान्त सही भएपनि त्यसलाई विकाउन मिडियाले भूमिका निर्वाह नगरेको टिप्पणी गर्नुहुँदै नेता गुरुङ्ले प्रेस चौतारी नेपाललाई सक्रिय हुन निर्देशन दिनुभयो । “हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेको थियो तर हामीले प्रचार गर्न सकेनौं ।” जनवर्गीय संगठन सक्रिय भएमात्र पार्टी बलियो बन्ने उहाँले बताउनुभयो ।

नेपालमा छ जना कम्युनिष्ट प्रधानमन्त्री बने पनि मनमोहन अधिकारी र केपी शर्मा ओलीले मात्र राम्रो काम गरेको उहाँले दावी गर्नुभयो । नेपालमा अब आन्दोलन र लडाई गर्न सेनाको आवश्यकता नरहेको बरु विकास र उत्पादनका लागि सेनाको खाँचो भएको उहाँले बताउनुभयो । प्रेस चौतारीलाई सबैभन्दा चुस्त संगठनकोरुपमा विकास गर्न उहाँले निर्देश गर्नुभयो ।

एमाले नेता डा. राजन भट्टराईले एमालेले गफ गर्नेभन्दा काम गरेर देखाउने पार्टी भएको बताउनुभयो । एमाले नेतृत्वको यसअघिको सरकारले देश र जनताको पक्षमा काम गरेपनि त्यसको प्रचार गर्न नसकिएको उहाँले बताउनुभयो । समृद्ध नेपाल बनाउने अभियानलाई सरकार बाहिर रहेपनि सञ्चालन जारी राख्ने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपाल काठमाडौं शाखाका अध्यक्ष पुकार तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, एमाले काठमाडौंका अध्यक्ष दिपक निरौला, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट, अध्यक्ष गणेश बस्नेत लगायतले धारणा राख्नुभएको थियो । अधिवेशनले मुकुन्द भुषालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?