हिक्मत सिंह
डडेल्धुरा, माघ ७ गते । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले नियमित रुपमा दिने सेवा तत्कालका लागि बन्द गरेको छ ।
नागरीकता फाँटमा कार्यरत एक जना कर्मचारीमा सङ्क्रमण देखिएको र अन्य कर्मचारीहरु बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सूचना जारी गर्दै शुक्रबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो । प्रजिअ जोशीले सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघ संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवा बन्द गरिएको बताउनुभयो ।
शान्ति सुरक्षा र मुद्दासम्बन्धि अत्यावश्यक सेवाहरु नियमित रहने प्रजिअ जोशी बताउनुभयो । डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएको छ ।