logo
२०८१ मंसिर ११ मंगलवार



अन्य मुलुकलाई असर पर्ने काम नहोस् : गृहमन्त्री

राष्ट्रिय |


अन्य मुलुकलाई असर पर्ने काम नहोस् : गृहमन्त्री


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताउनुभएको छ । उहाँले नेपालको विमानस्थल प्रयोग भएर कुनै मित्रराष्ट्रलाई असर पर्ने कुनै पनि काम हुन नहुनेमा जोड पनि दिनुभयो । गृहमन्त्री खाणको अध्यक्षतामा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच भएको बैठकमा उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

नेपाली युवा भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाइ र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति पनि गठन गरिएको छ ।

समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहनुभएको छ । समितिको सदस्य सचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी हुनुहुन्छ ।

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डे सहभागी हुनुहुन्थ्यो । बैठकमा विदेशमा जाने नेपालीका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीका समस्या समाधानबारे छलफल भएको गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट प्यासेन्जर्सको सहज अवस्था सिर्जना गर्न उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?