logo
२०८१ बैशाख २६ बुधवार



राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान सुरु

राष्ट्रिय |


राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा मतदान सुरु


विजयकुमार साह
ढल्केबर, माघ १२ गते । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको बुथ केन्द्रमा मतदान सुरु भएको निर्वाचन अधिकृत वीरेन्द्र मिश्रले बताउनुभयो । मधेश प्रदेशमा दुई पदका लागि बुधबार बिहान ९ बजेदेखि मतदान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।

मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ । योसँगै मधेस प्रदेशमा दुई सिटका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान केन्द्रमा तीनवटा बुथको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य, नगर प्रमुख÷उपप्रमुख र कोरोना संक्रमित मतदाताका लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएको छ ।

मतदान केन्द्रमा प्रवेश गर्नुअधि मतदाताहरूको कोरोनाविरुद्धको खोप कार्ड अनिवार्यरूपमा जाँच गरेर जान दिएको छ । मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम चेकजाँच हुनेछ । तापक्रम जाँच तथा रुघाखोकी लागे/नलागेकोबारे पनि प्रहरीले सोधपुछ गरेर मात्र भित्र प्रवेश दिने गरिएको छ । रुघाखोकी लागेका र कोरोना सङ्क्रमित मतदाताका लागि छुट्टै एउटा बुथमा मतदान गर्ने व्यवस्था मिलाएको छ । मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोलीसमेत खटिएको छ ।

एउटा बुथमा आठजना कर्मचारी खटाइएको छ । प्रत्येक बुथमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगीलाई परिचालन गरिने मिश्रले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा दुई पदका लागि चार जनाको उमेदवारी परेको छ । सत्तारूढ र प्रतिपक्षी दलको गठबन्ध छ । सत्तारूढ पाँच दलको संयुक्त उमेदवारका रूपमा निर्मला अर्याल र खालिद् सिद्दिकी छन् । अर्याल नेकपा माओवादी केन्द्रका हुन् भने सिद्दिकी जनता समाजवादी पार्टी (जसपा)का हुन् ।

यस्तै प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादीका गठबन्धनबाट रुपा यादव र उसमान अन्सारी उम्मेदार छन् । सुरुमा छुट्टाछुट्टै उमेदवारी दर्ता गराएका प्रतिपक्षी दल नेकपा एमाले र लोकतानित्रक समाजवादीले गठबन्धन गरेका छन् ।

मधेश प्रदेशमा दुई सय ६८ पालिका प्रमुख/उपप्रमुख छन् भने १०४ प्रदेशसभा सदस्य छन् । पालिका प्रमुख र उपप्रमुखको मतभार चार हजार आठ सय २४ रहेको प्रदेश निर्वाचन कार्यालयकी पुष्पा यादवले जानकारी दिइन् । उनकाअनुसार सांसदको मतभार चार हजार ९ सय ९२ गरी कुल मतभार ९ हजार आठ सय १६ छ । जसमध्ये मधेस प्रदेशमा एमालेको पालिका प्रमुख र उपप्रमुख २९ तथा प्रदेश सांसद आठ जना छन् । एमालेसँग गठबन्धन गरेका लोसपाको पालिका प्रमुख र उपप्रमुख ४२ र प्रदेश सांसद १६ जना छन् ।

यता सत्तारूढ गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत समाजवादी)सँग पालिका प्रमुख र उपप्रमुख एक सय ९५ र प्रदेश सांसद ७९ जना छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?